तपाईँ सुन्दै हुनुहुन्छः

विदेशमा रहेका नेपालीको शेयर प्रतिशत बढ्ने

काठमाडौं । ताप्लेजुङमा निर्माण हुने धुन्साखोला र सिम्बुवा खोला जलविद्युत आयोजनामा रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको शेयर प्रतिशत यसअघि प्रस्ताव गरिएको भन्दा बढ्ने भएको छ ।

तीदुवै आयोजनाको निर्माण र सञ्चालनको जिम्मेवारी जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को सहायक कम्पनी रेमिट हाइड्रोलाई दिइएको छ ।

विदेशमा बस्ने नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) को रकम समेत लगानी गर्ने गरी ७७.५ मेगावाटको धुन्सा र ७०.३ (संशोधित) निर्माण गर्ने गरी ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले कम्पनी मार्फत निर्माण प्रक्रिया अघि बढाएको छ ।

जनताको जलविद्युत आयोजना कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिको बैठकमा शुक्रबार ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तले रेमिटयान्सको लगानी प्रतिशत वृद्धि गर्ने प्रक्रिया अघि बढाउन आयोजना निर्माणको जिम्मा पाएको एचआइडीसीएललाई निर्देशन दिनु भयो ।

ती दुवै आयोजनाका लागि यसअघि ३० प्रतिशत लगानी रेमिटयान्स र बाँकी ७० प्रतिशत बैंक वित्तिय संस्था, विकास साझेदार, स्थानीय बासिन्दा र सर्वसाधारण लगायतबाट रकम जुटाउने गरी लगानी अवधारणा तयार पारिएको थियो ।

तीदुवै आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययनर वातावरणीय प्रभाव अध्ययन मूल्याङकन (इआईए) को प्रक्रिया अन्तिम चरणमा रहेको छ ।

आयोजनाको लगानी स्वीकृतिका लागि लगानी बोर्डमा पठाइएको कम्पनीका तर्फबाट बैठकमा जानकारी दिइएको थियो । दुवै आयोजना निर्माणका लागि कुल २१ अर्ब रुपैयाँ लगानी हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button