तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणले खल्लो तीज


चितवन । माइतीमा गएर छमछम नाच्ने तीजको दिन आज कोरोना सङ्क्रमणले निषेधाज्ञाका कारण यहाँका महिलाहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । माइती, मावली जाने त कुरै भएन चोकसम्म पनि निस्कन र भेटघाट गर्न नपाएपछि तीज खल्लो भएको छ । माइतीमा आमा र दिदीबहिनीसँग रमाउने तीजमा घरमै रत्यौलीमा झैँ सासू, देवरानी र जेठानीसँग नाचेर तीज मनाउन महिलाहरु बाध्य छन् ।

भरतपुर महानगरपालिका–१० की ८४ वर्षीया विष्णुमाया गौतमले जीवनमा पहिलो पटक यस्तो तीज देख्नुभएको हो । उहाँको जीवनमा फरकफरक तीज देखिए तर यस वर्ष सुनसान भयो । छोरी, नातिनीलाई बोलाएर एक छाक खुवाउन परै जावस् घरबाहिर पनि निस्कन नपाएको उहाँको भनाइ छ । बाल्यकाल, युवा र बूढो हुँदै जाँदा तीजको पारा फेरिँदै गए पनि सुनसान चाहिँ यही वर्ष भएको गौतम बताउनुहुन्छ । उहाँले भन्नुभयो “बाँच्यो भने अर्को वर्ष रमाइलो गरी तीज मनाउँला ।” कोरोना रोगका कारण निषेधाज्ञा भएको र तीज मनाउन नपाएको उहाँलाई थाहा छ ।

तीजको दिन आज जिल्लाका शहरी र ग्रामीण क्षेत्र भरिभराउ हुन्थे । रङ्गीचङ्गी कपडामा बालिकादेखि वृद्धासम्म रमाउने गर्दथे । गाउँ र शहरका ठाउँठाउँमा टेण्ट लगाएर तीज गीतका कार्यक्रम गरिन्थ्यो । पाँच वर्षअघि निकै भड्काउ तीज हुन थालेपछि स्थानीय प्रशासनले नियन्त्रण गर्नुपरेको थियो । एक महिना अघिदेखि दरका नाममा भोज भतेर हुने गरेको थियो । स्थानीय रेडियोले प्रायोजक खोजेर महँगा पुरस्कार राखेर प्रतियोगिता गर्ने गर्दथे ।

स्थानीय कालिका एफएम र टेलिभिजनका निर्देशक दीपक पौडेलका अनुसार आजका दिन नजिकैको शिव मन्दिरमा तीज गीत महोत्सव गर्ने गरिएको थियो । विसं २०५९ सालमा रेडियो स्थापना भए यता बर्सेनि आजका दिन भव्य कार्यक्रम गरेको उहाँ बताउनुहुन्छ । पौडेलले भन्नुभयो “पाँच वर्षअघि सम्म रेडियो परिसरमै ठूलो राशिको पुरस्कार राख्थ्यौँ । पछि प्रशासनले रोक लगाएपछि महोत्सव गर्न थाल्यौँ ।” पुरस्कारको राशि प्रथम हुनेलाई रु ६० हजारसम्म दिँदा ११० समूह सहभागी भएको उहाँले स्मरण गर्नुभयो । त्यतिबेला चितवन, नवलपरासीसँगै छिमेकका जिल्लाबाट पनि प्रतियोगी आउँथे । अहिले भने सुनसान छ । खिचेर सामाजिक सञ्जालमा पठाएका नाच, गीत टिभीमा प्रसारण गरिरहेको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका उपप्रमुखसमेत रहनुभएकी नेपाल महिला सङ्घ चितवनका अध्यक्ष पार्वती शाह ठकुरी रोगको सङ्क्रमणका कारण तीज मनाउन नपाएको बताउनुहुन्छ । उहाँका अनुसार विगतका वर्षमा जिल्लाको मुख्य बजार नारायणगढमा स्टेज बनाएर भव्य कार्यक्रम गरिन्थ्यो । वडादेखि नगर, क्षेत्र र जिल्लाले दर खुवाउने कार्यक्रमसमेत गर्ने गर्दथे । उहाँले भन्नुभयो “सम्भवतः जिल्लामा सबैभन्दा ठूलो सहभागिता हाम्रो हुन्थ्यो ।”

सासू, ससुरा र श्रीमानसँगै परिवारदेखि सरकारका काम कुरालाई गीतको भाकामा छेड हान्दै र प्रश्रय दिँदै आ–आफ्ना गीत महिलाहरुले गाउने गर्दथे । अखिल नेपाल महिला सङ्घ चितवनका अध्यक्ष सङ्गीता भट्टराई आफ्नो जीवनमा पहिलो पटक यस्तो तीजमा रमाउनु परेको बताउनुहुन्छ । रोगको सङ्क्रमणको बाध्यता बुझेकै कारण जे जस्तो अवस्था छ त्यसैमा रमाउन उहाँले आग्रह गर्नुभयो । विगतका तीजमा वडादेखि जिल्ला तहसम्मले गरेको रमाइलो सम्झँदै अहिले घरमै बसेर तीज मनाउनुको विकल्प नभएको उहाँले बताउनुभयो ।

जिल्लाका छ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकाले घरबाट बाहिर निस्कन मिल्दैन । सबै घरघरमै बसेर तीज मनाइरहेका छन् । बुहारीहरुले सासूसँग र सासूले बुहारीसँग नाचेर यस वर्ष घरघरमा तीज मनाउनुपरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण वर्षदिनमा आउने महिलाहरुको ठूलो पर्व तीज खल्लो भएको छ । तैपनि रोगको सङ्क्रमणका कारण सबैले भनेका छन्, “बाँचिबसे अर्को वर्षको तीज धुमधाम साथ मनाउँला ।”

नजिक माइती भए पनि रोगको डरले छिमेकीले के भन्लान् भनेर धेरैले छोरी बोलाउन र जान आँट नगरेको भरतपुरकी शारदा शर्माले बताउनुभयो । हिँडडुलमा नै रोक लगाइएको छ । समूहमा उठबस गर्न सम्भव नै नहुने भएकाले राति दर खाएका महिलाहरु आज बिहानदेखि घरमै सामाजिक सञ्जालमा रमाएर यस वर्ष तीज मनाइरहेका छन् । धेरैले घरमै गरिएका नाचगानका तस्बिर र भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको देख्न सकिन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button