तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको उपयोगः क्याफेका भित्तामा चित्रकला


दोलखा । लकडाउनले सदरमुकाम चरिकोटको क्याफेहरू बन्द प्रायः रहे पनि सञ्चालकहरू भने चुप लागेर बसेका छैनन् । अहिले धेरै क्याफे सञ्चालकहरूले स्थानीय तथा काठमाडौँबाट समेत चित्रकार ल्याएर आफ्नो क्याफेको भित्ताहरूमा जिल्लाको विभिन्न पर्यटकीय स्थलको चित्र बनाउने अभियान सुरु गरेका छन् ।

सदरमुकाम चरिकोटमा ड्रिम्स, रोयल क्याफे, किङ्स, दाह्रीबाजे, टुटेपानी, पावन, मिट प्वाइन्ट, किस्मत लगायतका क्याफेहरू सञ्चालनमा छन् । अहिले अधिकांश क्याफेले लक डाउनको अवधिमा क्याफेको भित्ताहरूमा धमाधम चित्र कोर्न थालेका छन् ।

सदरमुकाम चरिकोटको बिच बजारमा रहेको ड्रिम्स क्याफेका सञ्चालक भरत रोन श्रेष्ठले आफ्नो क्याफेको भित्ताहरूमा स्थानीय चित्रकार हरि केसीलाई उपयोग गर्दै आफ्नो गाउँ क्षेत्रपाको प्रसिद्ध कालाघारी झरना, सैलुङ डाँडा, नेवारी सांस्कृतिक पहिचान झल्काउने पहिरन सहितको युवती आदीको चित्र बनाउन लगाएका छन् ।

यो लक डाउनको सदुपयोग मात्र हैन, ड्रिम्स क्याफेका सञ्चालक श्रेष्ठ भन्छन्– दोलखाको पर्यटकीय स्थल, सांस्कृतिक परम्परा आदी झल्कने चित्रले क्याफेमा आउने गेस्ट (ग्राहक) लाई आनन्दित तुल्याउने र जिल्लाको पर्यटकीय स्थल घुम्न अभिप्रेरित समेत गर्ने अपेक्षा लिन सकिन्छ । क्याफेका भित्तामा कोरिएका चित्रहरूले कोरोना कहरले आहत भएको मनहरूलाई समेत कफीको चुस्कीसंगै रोमाञ्चित बनाइदिने सञ्चालक श्रेष्ठको अपेक्षा छ ।

चरिकोट पेट्रोल पम्प आसपास रहेको टुटेपानीका सञ्चालक प्रवीण श्रेष्ठ पनि क्याफेको भित्तामा गौरीशङ्कर हिमाल, भोर्लेको झरना आदीको चित्र बनाउने अभियानमा व्यस्त छन् । क्याफेमा जिल्लाको विभिन्न ठाउँको चित्र बनाउन लगाउँदा लक डाउन पछि क्याफे प्रवेश गर्ने गेस्टले नयाँ अनुभूति गर्न सक्ने र जिल्लाको पर्यटकीय स्थलहरूको प्रचार समेत हुने प्रवीणको भनाई छ । चित्र बनाउन स्थानीय चित्रकारलाई नै प्रयोग गरेकोले स्थानीय प्रतिभाको प्रवर्धनमा समेत सहयोग पुगेको प्रवीणको ठम्याई छ ।

सदरमुकाम चरिकोटमा रहेको क्याफेका भित्तामा कोरिएका चित्रहरूमा दोलखाको प्रसिद्ध पर्यटकीय स्थलहरू, मठ मन्दिर, सांस्कृतिक पहिचान झल्कने भेष भुषाले सजिएको आकृति देख्न सकिन्छ । हिजोआज हरेक उमेर समूहका गेस्टहरू लक डाउन छल्दै ड्रिम्स, किङ्स, टुटेपानी लगायतका क्याफेको भित्तामा कोरिएका विभिन्न आकर्षक चित्रलाई नियाल्दै र त्यसका आडमा ढेसिदै तस्बिर लिन तम्सिरहेका हुन्छन् ।

ड्रिम्स क्याफेमा चित्र कोरिरहेका स्थानीय कलाकार (चित्रकार) हरि केसी क्याफेको भित्तामा कोरिएको चित्रमा फोटो खिच्ने जमातले दुई तीन दशक अघिको पुस्ताले फोटो स्टुडियोको भित्तामा राखिएको विभिन्न चित्रमा फोटो खिचाउने गरेको विगत स्मरण गराएको बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button