तपाईँ सुन्दै हुनुहुन्छः

डुङ्गाबाट तस्करी गरी भारत लादै गरेको १७५ बोरा हरियो मटर बरामद

सप्तरी । डुङ्गामार्फत कोशी नदी हुँदै भारततर्फ अवैध रुपमा लैजाने तयारी गर्दै गरेको अवस्थामा एक सय ७५ बोरा मटर सशस्त्र प्रहरीले मंगलबार बिहानै नियन्त्रणमा लिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित गोबरगाढाको सप्तकोशी किनारमा बिहान ४ बजेतिर तीन वटा सानो र तीन वटा ठूलो गरि ६ वटा डुङ्गामा लोड गरि भारततर्फ लैजाने तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई देख्ने बित्तिकै तस्करहरु फरार भएको र बरामद १ सय ७५ बोरा हरियो मटर नियन्त्रणमा लिई मंगलबारै बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

मटरको अनुमानित मुल्य करिब ३ लाख ५० हजार रहेको अनुमान गरिएको छ । भारतको बिहार राज्यमा मदिरा प्रतिबन्ध रहेको र मटरको भाउ पनि राम्रै पाउने भएकाले केही दिन यता तस्करहरुले राती र बिहानको समयमा डुङ्गाको प्रयोग गरि मदिरा र मटर सीमा पारी लैजाने गरेको स्थानीयले बताँएका छन् ।

तीन दिन अघि पनि सशस्त्र प्रहरीको टोलीले भारततर्फ लैजादै गरेको अवस्थामा एक ट्रक मदिरा नाका क्षेत्र राजगढ गाउँपालिकाको मझौरा चँैक नजिकैबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले नाका क्षेत्रमा गस्ति र निगरानी बढाएपछि तस्करहरु सप्तकोशीबाट डुङ्गामार्फत तस्करीको नयाँ शैली अपनाउन सुरु गरेको पाइएको प्रहरी उपरीक्षक श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button