तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा उपचारको क्रममा २ सङ्क्रमितको मृत्यु

फाइल तस्बिर

वीरगन्ज । वीरगन्ज स्थित नारायणी अस्पतालको अस्थायी कोभिड वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा गए राति बाराका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ का ६६ वर्षीय पुरुष र बाराकै विश्रामपुर गाउँपालिका वडा नम्बर १ छतवाका ४२ वर्षीय पुरुषको गए राति नारायणी अस्पतालको अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

थाइराइड र उच्च रक्तचापजस्ता समस्याबाट पीडित कलैयाका ६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गत भदौ २ गते उपचारका लागि वीरगञ्ज ल्याइएको थियो । उनको सोही दिन स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताउनुभयो ।

कोरोना संक्रमण देखिएपछि उनलाई वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा राखिएको थियो । उपचारकै क्रममा गए राति उनको मृत्यु भएको डाक्टर चौरसियाले बताउनुभयो ।

त्यसै गरी बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ का ४२ वर्षीय पुरुषमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृगौलारोगी उनमा श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारका लागि वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा ल्याइएको थियो । उनको पनि गए राति ११ बजे उपचारकै क्रममा मृत्यु भएको डाक्टर चौरसियाले बताउनुभयो ।

यसअघि हिजो बिहान नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा बाराका २ जना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको थियो ।

वीरगन्जमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । वीरगन्जमा उपचारको क्रममा मृत्यु हुने मध्ये ३१ जना पर्साका, ९ जना बाराका र २ जना रौतहटका रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button