तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा गर्भवती महिलासहित तीन सङ्क्रमित र थप एक पुरुष गरी चार जनाको मृत्यु

फाइल तस्बिर

बीरगंज । वीरगञ्जमा कोरोना संक्रमणबाट गर्भवती महिलासहित तीन जना र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका थप एक पुरुष गरी चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा पर्साको धोविनी गाउँपालिका वडा नम्बर ३ निवासी ७२ वर्षीय पुरुष, बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दिया निवासी २३ वर्षीया महिला, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरी निवासी ६२ वर्षीय पुरुष गरी तीन जना, कोरोना सङ्क्रमित र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका रौतहट राजदेवी नगरपालिका मुडवलबाका ८० वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता अतुलेश कुमार चौरसीयाले जानकारी दिनुभयो ।

८० बर्षिय पुरुषको मृत्युपछि स्वाब संकलन गरिएको र मृतकको पिसीआर रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता चौरसीयाले बताउनुभयो ।

भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका पर्सा धोबिनीका ७२ वर्षीय पुरुषमा निमोनिया समेत थियो । उनको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता चौरसीयाले बताउनुभयो ।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई नारायणी अस्पतालबाट गण्डक कोभिड अस्पतालमा थप उपचारका ला िलैजाने क्रममा मृत्यु भएको र सङक्रमण पुष्टि भएसँगै मृतकका आफन्तले उनलाई अस्पतालमै छोडेर गएको चिकित्सकहरुले बताएका छन् ।

त्यसैगरी बारा हर्दियाकी २३ वर्षीया संक्रमित महिला आठ महिना २५ दिनको गर्भवती रहेको र भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार नआएको र उपचारकै क्रममा आज बिहान ६ बजे उनको अस्थायी कोभिड अस्पताल बीरगंज हेल्थकेयरमा मृत्यु भएको कोभिड अस्पतालका संयोजक डा.उदय नारायण सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरी निवासी ६२ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भइ साउन ३० गते वीरगञ्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएकोमा उनको आज बिहान आइसीयु कक्षमा उपचारको क्रममा मृत्यु भएको डा.सिंहले बताउनुभयो ।

मिर्गौलाका दिर्घ रोगी उनको हेल्थ केयरमै नियमित डायलसिससमेत भइरहेको थियो । उनी उच्च रक्तचाँप र श्वासप्रश्वासको समस्याबाट पनि ग्रसित रहेका नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिनुभयो ।

त्यसैगरी मृत्यु भएका रौतहटका ८० बर्षीय वृद्धको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । रौतहट राजदेवी नगरपालिका मुडवलबा निवासी ८० बर्षिय बृद्धलाई स्वासप्रश्वासमा कठिनाई भएपछि भदौ ९ गते रौतहटबाट बीरगंजको नारायणी अस्पतालमा ल्याई भर्ना गरिएको थियो । उनको उपचारको क्रममा नारायणी अस्पतालमा गएराति मृत्यु भएको नारायणी अस्पतालका प्रबक्ता चौरसीयाले बताउनुभयो ।

योसँगै हालसम्म बीरगंजमा बारा, पर्सा, रौतहटका गरी उपचारको क्रममा ४४ जनाको मृत्यु भएको छ । जसमध्ये ३२ जना पर्साका, १० जना बाराका र दुई जना रौतहटका छन् ।

जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button