तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा कोरोना सङ्क्रमित १० हजार नाघ्यो

जनकपुरधाम । प्रदेश नंं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ ।

कूल ९१ हजार पाँच सय ४४ जनाको पिसिआर परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या १० हजार २२ पुगेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित मध्ये हालसम्म कोरोनालाई पराजित गरेर चार हजार आठ सय ४९ जना निको भएर घर फर्केका छन् ।

यसै गरी कोरोना सङ्क्रमणका कारण ८६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार हाल प्रदेशको विभिन्न जिल्लाहरूमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८६ जना रहेका छन् । जस मध्ये संस्थागत आइसोलेसनमा एक हजार ३२ जना रहेका छन् भने होम आइसोलेसनमा चार हजार ५५ जना रहेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा संस्थागत आइसोलेसनमा नयाँ सङ्क्रमितहरू भर्ना हुने क्रम निक्कै घटेर गएको प्रादेशिक अस्पताल जनकपुरधामका कोरोना विशेष अस्पतालका संयोजक डा.जामुन प्रसाद सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार होम आइसोलेसनमा नै नयाँ सङ्क्रमितहरू बस्न रुचाउने गरेका कारणले कतिपय संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थालेको हो ।

त्यसै गरी सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएको जिल्लामा पर्सा जिल्ला रहेका छन् । पर्सा जिल्लामा संस्थागत आइसोलेसनमा चार सय २६ तथा होम आइसोलेसनमा आठ सय ५५ जना गरेर एक हजार दुई सय ८१ जना सक्रिय सङ्क्रमितहरू रहेका छन् ।

त्यस्तै सर्लाही जिल्लामा संस्थागत आइसोलेसनमा एक सय चार जना तथा होम आइसोलेसनमा छ सय २२ जना गरेर कूल आठ सय २६ जना सक्रिय सङ्क्रमित रहेको छ ।

त्यसै गरी रौतहट जिल्लाको संस्थागत आइसोलेसन ७५ जना तथा होम आइसोलेसनमा सात सय ४४ जना गरेर ८ सय १९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

महोत्तरी जिल्लामा संस्थागत आइसोलेसनमा २५ जना तथा होम आइसोलेसनमा सात सय ६८ जना गरेर कूल सात सय ९३ जना सक्रिय सङ्क्रमितहरू रहेका छन् ।

त्यस्तै धनुषा जिल्लाको संस्थागत आइसोलेसनमा ५९ जना तथा होम आइसोलेसनमा पाँच सय ८४ जना गरेर कूल छ सय ४३ जना सक्रिय सङ्क्रमितहरू उपचारमा रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवं प्रवक्ता विजय कुमार झाले जानकारी दिनु भएको छ ।

त्यसै गरी बारा जिल्लाको संस्थागत आइसोलेसनमा ७३ जना तथा होम आइसोलेसनमा चार सय १० जना गरेर कूल चार सय ८० सक्रिय सङ्क्रमितहरू रहेका छन् । सप्तरी जिल्लाको संस्थागत आइसोलेसनमा बढी रहेको छ । संस्थागत आइसोलेसनमा एक सय २० जना तथा होम आइसोलेसनमा ७९ जना गरेर एक सय ९९ सक्रिय सङ्क्रमितहरू रहेका छन् ।

सबैभन्दा कम सङ्क्रमित हुने जिल्लामा सिराहा जिल्ला रहेको छ । सिराहा जिल्लामा संस्थागत आइसोलेसनमा सबैभन्दा बढी एक सय ५० जना रहेका छन् भने होम आइसोलेसनमा जम्मा तीन जना गरेर सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ५३ जना मात्र रहेको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button