तपाईँ सुन्दै हुनुहुन्छः

३० बेड क्षमताको प्राथमिक आइसोलेसन सेन्टरको स्थापना


बर्दिबास । कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै महोत्तरीको गौशाला नगरपालिकाले ३० बेड क्षमताको प्राथमिक आइसोलेसन सेन्टरको स्थापना गरेको छ ।

पीसीआर परीक्षण पश्चात् कोरोना पोजेटिभ भएको र लक्षण नदेखिएका व्यक्तिहरूलाई सेल्फ आइसोलेसनमा बस्दा गाउँघरमा सङ्क्रमणको जोखिम अझ बढ्न सक्ने भन्दै नगरपालिकाले ३० बेडको नगर स्तरीय प्राथमिक आइसोलेसन सेन्टरको स्थापना गरेको हो ।

लक्षण नदेखिएका तथा सामान्य लक्षण भएका सङ्क्रमितलाई सो आइसोलेसनमा व्यवस्थापन गर्ने र जटिल समस्या देखिएका सङ्क्रमितहरूलाई प्रदेश तथा केन्द्र सरकारले स्थापना गरेको आइसोलेसन सेन्टरमा पठाउने उद्देश्य सहित प्राथमिक आइसोलेसनको स्थापना गरिएको नगर प्रमुख शिवनाथ महतोले बताउनुभयो ।

गौशाला नगरपालिकाको वडा नं. १२, इमली बजारस्थित स्वास्थ्य केन्द्रका लागी निर्माण गरिएको दुई तले भवनमा नगर प्राथमिक आइसोलेसन सञ्चालन गरिएको नगर प्रमुख महतोले बताउनुभयो ।

हाल आइसोलेसनमा १२ जना कोभिड–१९ सङ्क्रमित व्यक्ति रहेका छन् । आइसोलेसन भवनमा कोभिड–१९ सङ्क्रमित व्यक्तिको रेखदेख तथा उपचारका लागि नगरप्रहरी र स्वास्थ्यकर्मी समेत खटिँदै आएका छन् ।

नगरप्रमुख महतोले नगरमा भारत लगायत तेस्रो मुलुकबाट आउनेहरूका लागि वडा नं. २ निगौल स्थित प्राविधिक शिक्षाको भवनमा क्वारेन्टाईनको व्यवस्थापन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button