तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको लक्षण भएका युवकसहित बीरगंजमा उपचारको क्रममा दुई जनाको मृत्यु

बीरगंज । वीरगञ्जको नारायणी अस्पतालमा आज थप दुई जनाको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणको लक्षण देखिएका बाराका एक युवक र सर्लाहीका एक कोरोना सङ्क्रमित गरी दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

बारा जिल्लाको सपहीका २३ वर्षीय युवकको गए राति उपचारको क्रममा नारायणी अस्पताल बीरगंजको आकस्मिक कक्षमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

बाराबाट आइतबार दिउँसो उपचारका लागि आएका युवकको गए राति उपचारकै क्रममा मृत्यु भएको डा.चौरसियाले बताउनुभयो ।

मृतकको गए राति नै स्वाब सङ्कलन गरी परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभयो ।

मृतक युवकमा केही दिनदेखि कोभिड–१९ सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको ज्वरो आउने, सुक्खा खोकी, श्वासप्रश्वासमा समस्या रहेको डा.चौरसियाले बताउनुभयो ।

यसअघि वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा सर्लाहीका थप एक सङ्क्रमितको मृत्यु भएको थियो ।

नारायणी अस्पतालको आइसोलेसनमा विगत ८ दिनदेखि ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गरिएका सर्लाही चक्रघट्टा गाउँपालिका वडा नम्बर ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

ज्वरो र श्वास प्रश्वासमा समस्या भएपछि ३ भदौमा अस्पताल भर्ना भएका उनीमा कडा खालको कोभिड निमोनिया देखिएको थियो ।

मृतक युवकको भदौ १४ गतेबाट प्लाज्मा थेरापी विधि अनुरूप उपचार भइरहेको थियो ।

उनी वीरगञ्जमा प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएका पहिलो सङ्क्रमित थिए । प्लाज्मा थेरापीपछि स्वास्थ्यमा सुधार आएको थियो । तर उपचारका क्रममा मुटुमा पनि समस्या देखिएको र मुटुमै समस्या जटिल बनेर उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा.उदय नारायण सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button