तपाईँ सुन्दै हुनुहुन्छः

भैँसी पालेर मासिक दुई लाख

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ४ शान्तिपुरका युवा किशन ढकाल भैँसी पालनमा रमाएका छन् । उमेरले ३९ वर्ष पुगेका ढकालसँग रोजगारीका लागि विगतमा विभिन्न देशहरूमा धेरै पटक भौँतारिएको तितो मिठो अनुभव छ । विगतमा के गर्न सकिन्छ भनेर विभिन्न विकल्पमा अलमलिएर देश विदेश धाएका ढकालले व्यावसायिक रूपमा भैंसीपालन व्यवसायमा भविष्य देखेपछि ढाइ वर्षयता सत्गुरु भैँसी फार्म सञ्चालन गरिरहेका छन् ।

करिब २० लाख लगानीमा ५ वटा भैँसी पालन बाट सुरु गरेका ढकालले हाल करिब ४५ वटा भैँसी तथा गाई पालन गरिरहेका छन् । बजारमा दूधको मागलाई लक्ष्य गरेर उक्त माग पूर्ति गर्ने उद्देश्य राखी व्यवसाय थालेका ढकालले हरेक दिन करिब ९० देखि १०० लिटर दूध बचेर मासिक करिब २ लाख आम्दानी गर्छन् ।

घरपरिवारको दैनिक आवश्यकता पूर्ति गर्न म पनि रोजगारीको लागि करिब ८ वर्ष विदेशमा बिताए । घरपरिवारसँगै आफ्नै ठाउँमा केही गरौँ भन्ने सोच लागेर यही व्यावसायिक रूपमा भैँसी पालन सुरु गरे । ढकालले भने ,” केही लगानी त चाहिन्छ तर लगानी गरिसकेपछि अलमलिनु हुँदैन, आफ्नो लक्ष्य पूरा गर्न डटेर लाग्नुपर्छ ।’ व्यावसायिक भैंसीपालन सुरु गर्दा सुरुवाती चरणमा खासै आम्दानी नभएपनी हाल सम्पूर्ण खर्च कटाएर मासिक लगभग एक लाख नगद बचत भइरहेको उनको भनाइ छ ।

“भैँसी र गाईका लागि आवश्यक जैँ, बर्सिम, बाजरा लगायतका घाँस व्यवस्थापनका लागि वार्षिक ३० हजारका दरले १५ कठ्ठा जग्गा भाडामा लिएको र आफ्नो १५ कठ्ठा गरी ३० कट्ठामा घाँस खेती गरेको छु,” ढकालले भने, “भैंसीपालनमा आफूलाई श्रीमती र आमाले सघाउँदै आएकाले सहज भएको छ ।”

करिब ८ लाख लगानीमा युरोपको आइसल्यान्ड जानको लागि थाइल्यान्ड लगेर दलालले २ महिना अलपत्र पारेको विगत सम्झिँदै अहिलेसम्म उक्त रकम नउठेको बताउँदै ढकालले खाडीमा जानुभन्दा स्वदेशमै केही गरौँ भन्ने भावले परिवारको साथले सफल व्यवसायी बनाएको बताए । युवा विदेश जानुभन्दा स्वदेशमै पशुपालन र कृषि पेसा गर्न ढकालले सुझाव दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button