तपाईँ सुन्दै हुनुहुन्छः

चालु आवको साउनमै लक्ष्यभन्दा बढी डेढ करोड राजश्व संकलन


जुम्ला । आन्तरिक राजश्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना कहरका बीच पनि राजश्व संकलनमा बृद्धि भएको छ । चालु आवको साउन महिनामा लक्ष्यभन्दा १ करोड १९ लाख ८० हजार राजश्व बढी संकलन गर्न सफल भएको कर अधिकृत गोपाल बहादुर थापाले बताउनुभयो । ३ करोड २१ लाखको लक्ष्यमा ४ करोड ४० लाख राजश्व उठ्दा, १ करोड १९ लाख राजश्व लक्ष्य भन्दा बढी संकलन भएको कर अधिकृत थापाको भनाई छ ।

उहाँले भन्नुभयो,“चालु आवको साउन महिनामा ३ करोड २१ लाख राजश्व संकलनको लक्ष्य राखेका थियौ । कोरोनाको त्रासले गर्दा लक्ष्य अनुसार राजश्व नउठ्ने चिन्तामा पनि थियौ । तर राजश्व संंकलनको अवस्था हेर्दा कोरोना कहरमा पनि डेढ करोड बढी राजश्व संकलन भयो ।”

लक्ष्य ३ करोड २१ लक्ष्य राखिए पनि साउन महिनाभरी ४ करोड ४० लाख ८१ हजार राजश्व संकलन भएको कर अधिकृत थापाको भनाई छ । कोरोना कहरले अन्य जिल्लामा लक्ष्यभन्दा दोब्बर कम राजश्व उठेको बेला जुम्लामा निकै उत्साहजनक रुपमा राजश्व संकलन भएको प्रति खुसी व्यक्त गर्नुभयो ।

जसमा मुल्य अभिबृद्धि कर १ करोड ४२ लाख ६९ हजार, आयकर १ करोड २२ लाख ७४ हजार, अन्तशुल्क कर बापत १ करोड ३२ लाख ९ हजार, पारिश्रमिक आयकर ६६ लाख ५१ हजार र २८ लाख ६९ हजार सामाजिक सुरक्षा कर लगायत विभिन्न १७ वटा शिर्षकबाट साढे ४ करोड राजश्व संकलन भएको छ ।

चालु आवको एक महिनामै साढे ४ करोड राजश्व संकलन भएको यो पहिलो रर्कड पनि हो । राजश्व कार्यालयको तथ्यांक अनुसार जम्मा १८ हजार ५ सय ७३ जना करदता रहेका छन् ।

पछिल्लो समय करको दायरामा आउनेको समेत संख्यामा बृद्धि हुदै गएको पाइएको छ । कोरोना कहरका बीच पनि राजश्व संकलनको शुरुवाती उत्साहजनक भएको र आगामी दिनमा राजश्व संकलन बृद्धिमा जोड दिन करशिक्षालाई अघि बढाईने योजना रहेको कर अधिकृत थापाले जानकारी दिए ।

गत आवमा २३ करोड राजश्व संकलन
आन्तरिक राजश्व कार्यालयले बितेको आर्थिक वर्षमा २३ करोड २२ लाख ५५ हजार ४ सय १ रुपैया राजश्व संकलन गरेको छ । लक्ष्यनै नतोकिएर गत आवको असार अन्तिम सम्ममा २३ करोड बढी राजश्व संकलन भएको हो ।

जसमा आयकर तर्फ ५ करोड १४ लाख ९२ हजार, आयकर तर्फ ६ करोड ३३ लाख ४४ हजार ५ सय, आयकर प्रा.लि. तर्फ ३ करोड ८८ लाख ४७ हजार, परामर्श तथा ठेक्का वापत ५ करोड ४१ लख ८३ हजार र अन्तशुल्क बापत ५१ लाख ४७ हजार ५ सय गरी अन्य विभिन्न २३ शिर्षकबाट वर्षभरी २३ करोड २२ लाख बढी राजश्व संकलन भएको कर अधिकृत गोपाल बहादुर थापाले जानकारी दिनुभयो । उहाँले जुम्लाको कर प्रणाली सुधार गर्दै आम नागरिकलाई करको दायरामा ल्याउन आवश्यक जनचेतना मुलक कार्यक्रममा जोड दिईने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button