तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्दाका फरार तीन अभियुक्त पक्राउ

अछाम –  जिल्ला प्रहरी कार्यालय अछामले कर्तव्य ज्यान मुद्दाका फरार तीन  जना अभियुक्तलाई पक्राउ गरेको छ ।

गत भदौ १६ गते राति मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाँउ बस्ने मान बहादुर भण्डारीको छोरा २४ वर्षीय सन्तोष भण्डारीलाई खानडाडामा कुटपिटमा संलग्न थप तीन जनालाई कालिकोटको रास्काेटबाट पक्राउ गरेको हाे ।

कालिकोट रास्कोट नगरपालिका वडा नम्बर ४ सिप्टीबाट मङ्गलवार पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घटनाका मुख्य अभियुक्त कमल बजार नगरपालिका वडा नम्बर ६ हात्तीबाज बस्ने नगेन्द्र बहादुर शाहीको छोरा वर्ष २३ को भुपेन्द्र शाही, सोही ठाउँको काला पोखरा बस्ने नगेन्द्र शाहीको छोरा वर्ष १८ को मीन बहादुर शाही र दैलेख जिल्ला आठविस नगरपालिका वडा नम्बर २ श्रीकोट बस्ने वर्ष २० राम शाही रहेका छन् ।

भदौ १६ गते राति कमल बजार नगरपालिका वडा नम्बर ६ हात्तीबाज बस्ने भुपेन्द्र शाही लगायत ८/९ जना व्यक्तिहरूको समूहले सामान्य विवाद भई कुटपिट गरी घाइते बनाएकोमा सन्तोष भण्डारीको उपचारको क्रममा भदौ १७ गते मृत्यु भएको थियो ।

घटनामा संलग्न ६ जना व्यक्तिहरूलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको छ । प्रहरीले अन्य फरार रहेका घटनामा संलग्न तीन जना अभियुक्तहरूको खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हाे ।

यसअघि पक्राउ पर्नेमा कमल बजार नगरपालिका वडा नम्बर ६ हात्तीबाज बस्ने बम ब. शाहीको छोरा वर्ष १९ को खेमराज शाही, विरपथका नेत्र बहादुर शाहीको छोरा वर्ष २० को भुपेन्द्र शाही, सोही ठाउँका डबल बहादुर शाहीको छोरा वर्ष २० को बिनोद बहादुर शाही, हात्तीबाज बस्ने छत्र शाहीको छोरा वर्ष २१ को अक्कल शाही, ईन्द्र बहादुर शाहीको छोरा वर्ष १९ को बिनोद शाही र तुल बहादुर शाहीको छोरा वर्ष २५ को रमेश शाही रहेका छन् ।

गम्भीर घाइते सन्तोषलाई थप उपचारको लागि भदौ १७ गते हेलिकप्टरबाट उद्धार गरी बाहिर लिने प्रयास भए पनि हेलिकप्टर अछाम पुग्ने बित्तिकै उनको ज्यान गएको थियो ।

पछि हेलिकप्टर रित्तै फिर्ता भएको थियो । गत बर्षमात्रै विवाह गरेका २४ वर्षका सन्तोषको ससुराली कमल बजार ८ ढाँकुबाट फर्किँदै गर्दा कुटपिटबाट मृत्यु भएपछि घरपरिवार र गाउँ बासी गहिरो शोकमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button