तपाईँ सुन्दै हुनुहुन्छः

तीन दिने जितिया पर्व विधिवत सुरु

सप्तरी । कोरोनाको त्रास र निषेधाज्ञाको माहौलका बीच मधेशी समुदायका विवाहित महिलाले मनाउने जितिया पर्व सुरु भएको छ ।

पर्वको पहिलो दिन बुधबार ब्रतालु महिलाहरुले बिहानै स्थानिय खोला, नदी, पोखरी लगायतका जलाशयमा गएर स्नान गरि घिरौलाको पातमा पिन, तोरी तेल, घिरौलाको फुल, सिन्दुर चढाएर जितवाहन भगवानको पूजा आराधना गरि पर्वको सुरुवात गरेका छन् ।

जितवाहन पर्व समेत भनिने यस अवसरमा ठाउँ ठाउँमा जितवाहन देउताको मूती पनि स्थापना गरि पूजापाठ सुरु भएको छ ।

स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेपनि जितियाका ब्रतालुहरु बिहानैदेखी पूजा र प्रसाद किन्नका लागि बाहिर निस्कदा बजारमा चहलपहल समेत बढेको छ । जितवाहन भगवानलाई चढाएको तेल प्रसादका रुपमा परिवारका सबै सदस्यले शरीर र कपालमा लगाए पछि आर्शिवाद पाइने जनविश्वास छ ।

आश्विन कृष्णपक्षको सप्तमीका दिन जलाशयमा तेल, पिन आदि चढाएपछि सुरु हुने यो तिन दिने पर्वमा महिलाहरु घरमा मरुवा (कोदो) को रोटी, माछा लगायतका परिकार खान्छन् । शाकाहारीले भने गम्हरी (कोषाभित्रै फल्ने धान) को खिर वा भात खाएर पर्वको सुरुवात गर्ने चलन छ ।

पण्डित रुपकान्त मिश्रका अनुसार यस पर्वमा जितवाहन देउताको पूजा गरे सन्तानको आयू लामो हुने तथा परिवारमा सुख, शान्ति छाउने धार्मिक विश्वास रहेको छ ।

ब्रतालु अनितादेवीले आफ्ना सन्तान र परिवारको सुस्वास्थ्य तथा सुरक्षाको कामना गर्दै यो पर्व मनाउँदै गरेको बताइन् । उहाँले बुधबार जितवाहन देउताको प्रसाद ग्रहन गरेपछि ७२ घण्टासम्म निर्जला अर्थात् पानी समेत सेवन नगरिकन उपवास बस्ने पनि सुनाइन् ।

थारु समुदायमा समेत पारम्परिक गित, संगितका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ । प्रकृतीको अर्चना पनि थारु समुदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । तर आमाको माया सम्झाउने यो पर्व पनि यस पल्ट अन्य पर्व झैं कोरोनाको महामारीका कारण रौनकता पाउन नसकेको स्थानियको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button