तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध सहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी स्थित इलाका प्रहरी कार्यालय बेलौरीले दुई फरकफरक स्थानबाट लागुऔषध खैरो हिरोईन सहित तीन जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ बैवाहा बस्ने ४५ वर्षीय हरि प्रसाद चौधरीलाई बिहीबार दिउँसो लालझाडी गाउँपालिका वडा नम्बर ६ स्थित चानदेवबाट ७.२१ ग्राम खैरो हिरोईन सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताउनुभयो ।

त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर ४ बस्ने ३० वर्षीय शेर बहादुर चन्द र ४० वर्षीय मनोज बिष्टलाई १९.२६ ग्राम खैरो हिरोईन सहित बिहीबार बिहान पक्राउ गरिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभएको छ । भारतीय नम्बर प्लेट रहेको युपी ३१ ए १३८१९ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा हेलमेड भित्र खैरो हिरोईन लुकाई ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । दुई फरकफरक स्थानबाट पक्राउ परेका तीनैजनालाई लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button