तपाईँ सुन्दै हुनुहुन्छः

मानसिक समस्याका कारण आत्माहत्या गर्ने बढे

सल्यान । सल्यानमा बन्दाबन्दीको समयमा आत्महत्या गर्ने घटनामा सङ्ख्यामा वृद्धि आएको छ । विश्वभर फैलिएको कोरोना भाइरस फैलिएयता आत्महत्या गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्याङ्क अनुसार २०७६ चैत ११ देखि हालसम्म झुन्डिएर आत्महत्या गर्ने ३२ र विष सेवनबाट १७ गरी ४९ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने बालबालिका देखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।

मानसिक तनावका कारण आत्महत्या गर्नेको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले बताए ।

मानिस बढी महत्त्वाकाङ्क्षी हुनु, मानसिक तनाव, बहुविवाह, आत्मग्लानि र गरिबीका कारण वर्षेनी आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै गएको प्रहरीको भनाई छ । उनले भने ‘बढ्दै गएको सहरीकरणसँगै महत्त्वाकाङ्क्षा पनि थपिँदै जाने तर महत्त्वाकाङ्क्षा पुरा नहुने, व्यवसायमा असफलता, पारिवारिक विमेल, लगायतका कारण आत्महत्या बढ्दै गएको पाइन्छ ।’

दैनिक जीवनमा आउने कठिनाइलाई सामना गर्ने क्षमताको कमी र उनीहरूमा सकारात्मक मनोपरामर्शको अभाव रहेको मनोपरामर्शदाता लोक बहादुर विकले बताए । आत्महत्या गर्नुको ८० प्रतिशत कारण मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेको उनको भनाई छ । मानसिक समस्या भित्र पनि डिप्रेसन रहेको उनले बताए । उनले भने ‘सामाजिक मूल्य मान्यता, मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिहरूको मनोभावना नबुझ्नु, प्राकृतिक विपत्ति लगायतका समस्या रहेका छन् ।’

आत्महत्या जस्तो विकृति रोक्न स्थानीय तहहरूले ठोस कार्यक्रम ल्याउनु पर्ने विकको भनाई छ । आत्महत्या गर्ने व्यक्तिलाई मात्र दोष लगाउने तर आत्महत्या गर्ने स्थितिसम्म कसरी पुग्यो भनेर त्यसबारे अनुसन्धान हुन नसकेको उनले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button