तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका ४२ जनाले कोरोना जितेर घर फर्किए


जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिकाका ३८ जनासहित जिल्लाका ४२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमितको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ४२ जना घर फर्किएका हुन् ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार आइसोलेसनमा रहेका संक्रमितको स्वाब संकलन गरी पुनः परीक्षण गर्दा विहिबार रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

यहाँका प्रमुख जिल्ला अधिकारी, कर्णाली प्रदेश सांसद, उद्योग बाणिज्य संघका अध्यक्ष, होटल व्यवसायी संघका अध्यक्ष लगायतलाई संक्रमण देखिएपछि त्रासपुर्ण वातावरण बनेका थियो ।

तर १० दिनपछि पुनः स्वाब परीक्षण गर्दा प्रजिअ भुपेन्द्र्र थापाको रिपोर्ट नेगेटिभ आएर कोरोना संक्रमण मुक्त हुनु भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकार देवकोटाले बताए । उनले भने अरु व्यक्तिहरुको पुनः परीक्षण गर्नका लागि शुक्रबार स्वाब संकलन गर्ने तयारी गरिएको छ ।

योसँग जिल्लामा कोरोना संक्रमित निको भएर घर फर्किनेको संख्या १९३ जना पुगेको छ । १५ जना आइसोलेसनमा र ९ जना होम आइसोलेसनमा गरी २४ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाका ९ हजार २८६ जनाको पिसिआर परीक्षण गरिएकोमा २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button