तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा आजबाट जोर बिजोर प्रणाली

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा आज रातिबाट सकिएको छ । आज असोज १ गतेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय चितवनले नयाँ आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आजदेखि निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने उहाँले बताउनु भयो । चितवनमा सार्वजनिक सवारी साधन सञ्चालनका विषयमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा स्वास्थ्य सावधानी अपनाउने विषयमा भने प्रशासनले कडाइ गर्ने उहाँको भनाइ छ ।

‘आजदेखि चितवनमा गर्न नपाउने र नमिल्ने कामको विवरण कम हुन्छ’ उहाँले भन्नुभयो, अति आवश्यक भन्दा बाहेकका पसललाई बिहान १० बजेदेखि ५ बजेसम्म खोल्न मिल्ने गरी निर्णय भएको छ ।’ यस्तै धार्मिक, संस्कृति कार्यक्रम गर्न, बिहे, व्रतबन्ध जस्ता सामाजिक काम गर्न र अन्य भेला जमघट हुनलाई केही समय रोकिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ गते राती १२ बजेसम्मको लागि केही खुकुलो बनाई निषेधाज्ञा लगाएको थियो । चितवनमा साउन ३२ गतेबाट निषेधाज्ञा लगाइएको थियो । सरकारले गरेको निर्णय अनुसार नै चितवनमा आजदेखि छोटो तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरू सञ्चालन भएका छन् ।

महिनाको जोर गतेका दिन जोर नम्बरका र बिजोर गतेका बिजोर नम्बरका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरू सञ्चालन गर्न पाउने छ । त्यस बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ । यसका लागि प्रशासनले अर्को मापदण्ड पनि बनाएको छ । यसरी सार्वजनिक सवारी साधनमा खटिने चालक र सह–चालकको नियमित स्वास्थ्य जाँच तथा कम्तीमा महिनामा एक पटक आरटी पीसीआर परीक्षण गर्नुपर्नेछ ।

सार्वजनिक यातायातले पालन गर्नुपर्ने मापदण्ड : 

जिल्ला प्रशासन कार्यालयले तोकेका मापदण्ड अनुसार अटो रिक्सामा बढीमा २ जना, म्याजिक भ्यानमा बढीमा ५ जना र अन्य सवारी साधनमा कुल सिट क्षमताको आधा सङ्ख्या मात्रै यात्रु चढाउन पाउने छन् ।

ठुला सवारी साधनमा सिटको दायाँ तथा बायाँ तर्फको लहरमा एक÷एक जना मात्र यात्रु राखेको हुनुपर्नेछ । चालक र सहचालकले अनिवार्य रूपमा मास्क प्रयोग गरेको हुनुपर्नेछ ।

सह–चालकले पञ्जा तथा भाइजर अनिवार्य लगाएको हुनुपर्ने, सवारी साधनको ढोकामै स्यानिटाइजर राखेको हुनुपर्ने र सवारी साधन दैनिक रूपमा निसंक्रमित गरेको हुनुपर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button