तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा पिसिआर प्रयोगशालाको उद्घाटन, कोरोना परिक्षण सुरु

बैतडी । जिल्ला अस्पताल बैतडीमा स्थापना भएको पिसिआर परिक्षण प्रयोगशालाको आज उद्घाटन गरिएको छ ।

प्रयोगशालाको प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गर्नुभएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको करिब ४० लाखको लागतमा प्रयोगशाला स्थापना भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो । प्रयोगशाला उद्घाटनपछि अब बैतडीमै कोरोनाको परिक्षण पनि सुरु भएको छ ।

योभन्दा पहिला कोरोना परीक्षणका लागि डडेलधुरा, कैलाली स्वाब पठाउनु पर्ने अवस्था रहेकोमा अब जिल्लामा कोरोना परीक्षण हुने जिल्ला अस्पतालका प्रमुख डा.डम्मरजंग सिंहले जानकारी दिनुभयो ।

बैतडीमा पीसीआर प्रयोगशाला स्थापना भएपछि बैतडी, दार्चुला, बझाङलगायतका जिल्लाका नागरिकलाई समेत सहज हुने भएको छ ।

प्रयोगशाला उद्घाटन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बैतडी जिल्ला अस्पतालका सबै समस्याहरू समाधान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आगामी दिनमा जनशक्ति, उपकरण र औषधिको अभाव हुने छैन, हामी त्यसको व्यवस्थापनका लागि पहल गर्नेछौँ, अहिले पनि दरबन्दीका डाक्टर छैनन्, उपकरणको अभाव छ, कहिलेकाहीँ औषधिको समेत अभाव हुन्छ, आगामी दिनमा यी अभावहरूको अन्त्य गर्नेछौँ ।’ अस्पतालमा सब वाहन नभएकोमा छिट्टै शव वाहनको व्यवस्था समेत गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टले बैतडीका स्वास्थ्य संस्थाहरूमा भएका समस्याप्रति प्रदेश सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले बैतडीमा एमबिबिएस पढेका नभएकाले पनि दरबन्दीको अभाव देखिन्छ, अघिल्लो बर्षपनि प्रदेश सरकारले एमबिबिएस पढ्नेलाई अनुदानका लागि भनेर डेढ करोड रकम छुट्याएको थियो ।

उक्त सबै रकम फ्रिज भयो, उति बेला सरकारी विद्यालयबाट प्रवीणता परीक्षा पास गरेकालाई मात्रै अनुदान दिने कार्यविधि थियो, तर अहिले कार्यविधि पनि परिमार्जन गरिएको छ, हामीले नै डाक्टर पढाउन सक्यौ भने उनीहरूलाई कम्तीमा पनि ७ वर्ष हाम्रै प्रदेशमा काम गर्न लगाइनेछ ।

उहाँले आफ्नो मन्त्रालयका तर्फबाट हरेक निर्वाचन क्षेत्रमा दुई वटा नविनतम् उद्योग र हरेक पालिकामा एक–एक वटा लघु उद्योग स्थापना गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

बैतडी जिल्ला देवभूमि समेत भएकाले धार्मिक तथा पर्यटकीयस्थलहरुले विकासका लागि १० लाखदेखि ४० लाखसम्म रकम विनियोजन गरिएको गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button