तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा प्रहरीद्वारा राखियो स्थानीय तहहरुमा सुझाव पेटिका

चितवन । प्रहरी तथा प्रहरी कर्मचारीहरूसँग सम्बन्धित गुनासो र सुझावहरू सङ्कलन गर्न आज चितवनका स्थानीय तहहरूमा सुझाव पेटिका राखिएको छ ।
सो सुझाव पेटिका राख्दै चितवनका प्रहरी प्रमुख (एसप.) नान्तीराज गुरुङले प्रहरीसँगका गुनासा र सुझावहरू सर्वसाधारणले सहजै रूपमा राख्न सकुन् भन्ने उद्देश्यले हरेक स्थानीय तहमा सुझाव पेटिका राखिएको बताउनुभयो ।
राप्ती नगरपालिकामा सुझाव पेटिका राख्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख गुरुङले प्रहरीको बारेमा सुझाव, गुनासो र अपेक्षा राख्न सर्वसाधारणलाई यस अगाडि असहज भएको महसुस गर्दै बाग्मती प्रदेश प्रहरी कार्यालयको सो अभियान अन्तर्गत सुझाव पेटिका राखिएको उहाँले बताउनुभयो ।
प्रहरीका बारेमा गुनासा, अपेक्षा र सुझावहरू परिचय गोप्य राखेर समेत पठाउन सकिने उहाँले बताउनुभयो । हरेक स्थानीय तहमा सङ्कलन भएका सुझावहरूलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा सङ्कलन गरी काम कारबाही अगाडि बढाउने उहाँको भनाइ थियो ।
प्रहरीले घटनाको अनुसन्धान, शान्ति सुरक्षा तथा हरेक गतिविधिमा समुदायको सहयोग विना काम गर्न नसक्ने भन्दै सबैको साथ र सहयोगले समुन्नत समाज निर्माण गर्न सकिने गुरुङले बताउनुभयो ।
साथै उहाँले जिल्ला प्रहरी कार्यालय चितवनको फोन नं. ०५६–५२०१५५ मा महिला, बालबालिका लगायत विभिन्न विषयमा जानकारी, उजुरी, गुनासो समेत दिन सकिने बताउनुभयो । सो टेलिफोनमा परिचय गोप्य राखेर सूचना दिनेहरूलाई समेत मध्यनजर गर्दै टेलिफोनको कलर आइडी समेत हटाइएको उहाँले बताउनुभयो ।
राप्ती नगरपालिकामा आयोजित सुझाव सङ्कलन पेटिका राख्ने क्रममा नगरप्रमुख प्रभा बरालले प्रहरीले आफ्नो बारेमा सुझाव लिने र अपेक्षा सङ्कलन गर्नु साह्रै नै महत्त्वपूर्ण काम भएको बताउनुभयो ।
सबै प्रहरी, कर्मचारी खराब नभएको भन्दै उहाँले केही खराबका कारण सबै बदनामी हुने अवस्थाको अन्त्य हुन पनि सुझाव सङ्कलनले मद्दत पुग्ने बताउनुभयो । प्रहरीप्रतिको आरोप र यथार्थताको कडीको रूपमा पनि सुझाव पेटिकालाई आफूले लिएको उहाँले बताउनुभयो ।
सो अवसरमा इलाका प्रहरी कार्यालय भन्डाराका प्रमुख प्रहरी निरीक्षक शुशिल कुमार पाण्डे, राप्ती नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता अमर बहादुर तमाङ, राप्ती उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार कँडेल, वडा अध्यक्ष, सदस्यलगायत स्थानीयहरूको समेत सो कार्यक्रममा उपस्थिति रहेको थियो ।
त्यसै गरी कालिका नगरपालिकामा पनि प्रहरीद्वारा सुझाव पेटिका राखिएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले सो सुझाव पेटिका राख्दै प्रहरी प्रतिका गुनासो र सुझावहरू निर्धक्क रूपमा राख्न स्थानीयहरूलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले प्रहरीले सुझाव सङ्कलन गरी आफ्ना गुनासाहरू समाधान गर्न लागेकोमा प्रशंसा गर्नुभएको थियो ।
सो अवसरमा विभिन्न वडाका वडा अध्यक्षहरू तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।
त्यसै गरी इलाका प्रहरी कार्यालय टाँडीको समन्वयमा रत्ननगर नगरपालिकामा पनि आज नै सुझाव पेटिका राखिएको छ ।सो अवसरमा नगर उपप्रमुख विमला दुवाडीले सुझाव पेटिकाले प्रहरीलाई काम गर्न थप मार्ग निर्देश प्राप्त हुने, जनताका गुनासाहरू समाधान गर्न सहज हुने बताउनुभयो ।
आज नै चितवनका सबै स्थानीय तहमा प्रहरी प्रदेश कार्यालय हेटौँडाको निर्देशन अनुसार सुझाव पेटिका राखिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button