तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ का ६ वटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको निर्णय

रुपन्देही । प्रदेश ५ सरकारले जिल्लास्तरका ६ वटा अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको बैठकले रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई ५० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

बैठकले भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो ।

बैठकले असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिस स्वीकृत गरेको छ । पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने सरकारका प्रवक्ता चौधरीले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले शव बाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका र रामग्राम नगरपालिकालाई शब बाहन खरिदका लागि ९० लाख रुपैंया उपलब्ध गराउने बैठकले निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button