तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीका भन्सार कार्यालयमा लक्ष्यभन्दा धेरै राजश्व असूली

टीकापुर कैलाली । कैलालीस्थित भन्सार कार्यालय आर्थिक वर्षको दोस्रो महिना भदौमा लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएको छन ।

सत्ती भन्सार कार्यालय खक्रौलामा भदौ महिनामा राजश्व लक्ष्यभन्दा दुई सय ४४ प्रतिशत बढी असूली भएको छ ।

सत्ती भन्सारले भदौ महिनाका लागि ४२ लाख रुपैया राजश्व उठाउने लक्ष्य राखेकोमा एक करोड चार लाख रुपैया राजश्व संकलन भएको भन्सार प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिनुभयो ।

भन्सार छली, चोरी पैठारी घटाउनका लागि दुई÷दुई किलोमिटरमा सशस्त्र प्रहरी र भन्सारमा २४सै घण्टा नेपाल प्रहरीको निगरानीले राजश्व संकलन बढेको प्रमुख चौरसियाले बताउनुभयो ।

दुई वर्ष अघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्ष भरीमा ५ करोड ८० लाख सात हजार मात्रै राजश्व उठाएको थियो । यस वर्ष छ करोड सात लाखको लक्ष्य राखेको छ ।

यसपटक कपडा, मोटर पार्टस र हार्डवेयरका सामान धेरै आएकाले राजश्व बढेको र प्रहरी प्रशासनको यस्तै सहयोग रहेमा तीन महिना मै वार्षिक लक्ष्य पूरा हुने भन्सार अधिकृत चौरसियाको भनाई छ ।

कैलाली भन्सार कार्यालयले पनि दोस्रो महिनामा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । भदौ महिनामा ५४ करोड ९७ लाख राजश्व उठाउने लक्ष्य राखिएकोमा ६१ करोड २५ लाख रुपैया उठेको भन्सार अधिकृत डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

लामो समय लकडाउनले गर्दा रोकिएको आयात बढेकाले राजश्व ११ दशमलव ४२ प्रतिशतले बढेको उहाले बताउनुभयोे ।

यो अवधिमा चामल, गहु, पापड भुजिया, दालमोठ जस्ता खाद्य बस्तुको अयात धेरै भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button