तपाईँ सुन्दै हुनुहुन्छः

होमस्टे व्यवसायी कृषिमा जुट्दै

बाँके – कोरोना सङ्क्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्टे(घरवास पर्यटन) व्यवसायमा सम्भावना नदेखेका यहाँका व्यवसायीहरु धमाधम कृषि पेशामा लागेका छन् । कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालक आम्दानीको विकल्प नभएपछि कृषि पेशा नै रोज्न थालेका हुन् ।

बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीका गङ्गादत्त जैसीले बैंकबाट रु २० लाख ऋण निकालेर होमस्टेमा लगानी गर्नुभएको थियो । उहाँको यस व्यवसाय विस्तारै फस्टाइरहेको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरु उहाँको होमस्टेमा आउने क्रम बढ्दै थियो । पर्यटकको स्वागत सत्कारमा उहाँको परिवार व्यस्त हुने गर्दथ्यो । उहाँलाई केही वर्षअघि नै होमस्टे शुरु गर्न पाएको भए राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने लागेको पनि थियो ।

आम्दानी भएपछि ऋण चुक्ता गर्न उहाँलाई खासै समस्या थिएन । बैंकलाई पाँच लाख रुपैयाँ बुझाउन बाँकी थियो । पाँच महिना यता भने उहाँलाई त्यो व्यवसाय निकै समस्या बन्न पुग्यो । कोभिड–१९ को प्रभावपछि पर्यटकको आगमन नभएपछि अब बैंकको ऋण कसरी तिर्ने र आफ्नो गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको छ । उहाँ भन्नुहुन्छ, “कोही पाहुना आइहाले पनि रोगको सङ्क्रमणको त्रासले गर्दा डराउनुपर्ने स्थिति छ ।” गत चैतमा लकडाउन भएपछि मासिक पाँच हजार रुपयाँ किस्ता तिर्न पनि मुस्किल परेको जैसीले बताउनुभयो ।

कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालकले आम्दानीको विकल्प रोज्न थालेका छन् । यतिबेला जैसीको पाहुना घर खाली छ । यो समयमा उहाँ पाहुना कुरेर बस्नुभन्दा आयआर्जनको विकल्पका रूपमा पहिलेकै झैं कृषि पेशा अँगाल्नु भएको छ । यसै महिना उहाँले ३० वटा बाख्रा खरिद गरेर बाख्रापालन गर्न शुरु गर्नुभएको छ । बाख्रासँगै भैंसी, कुखुरा पनि पाल्ने योजना रहेको उहाँ बताउनुहुन्छ । उहाँले भाडामा लिएको तीन बिघा जग्गामा गोलभेंडा खेती गर्न थाल्नु भएको छ । उहाँको नौ जनाको परिवार सबै खेतीपातीमा खटिएका छन् । “पाहुनासँग डराउनु पर्ने स्थिति आयो, पेट पाल्न विकल्प रोज्नै प¥यो,” उहाँले भन्नुभयो, “होमस्टेलाई एग्रो फार्मका रूपमा विकास गर्दैछु ।”

 

गाभर भ्याली होमस्टेका प्रायः सबैजसो सञ्चालकहरु अहिले कृषि र पशुपालनतिर मोडिएका छन् । बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको गाभर भ्याली होमस्टे सात वर्षदेखि सञ्चालनमा छ । खासगरी सुदूरपश्चिमका पर्यटकीय स्थल रारा, खप्तड, धनगढी, कञ्चनपुर, बर्दिया निकुञ्जलगायत स्थलमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक विश्राम गर्ने केन्द्र यही हो । यहाँका १७ घर होमस्टेमा अहिले पाहुना आउँदा स्वागत त के डराएर कसैले राख्न खोज्दैनन् । ऋण गरेर लगानी गरेको व्यवसायमा यसरी एक्कासि घाटा खेप्नुपरेपछि व्यवसायीहरु चिन्तित बनेका छन् ।

होमस्टे व्यवसायी कर्णराज रोकायले दुई वर्षअघि होमस्टेमा प्रशस्त सम्भावना देखेर लगानी लगाउनुभएको थियो । यसमा उहाँले सोचेभन्दा राम्रो आम्दानी पनि भएको थियो । थप लगानी लगाएर होमस्टेलाई व्यवस्थित गर्ने सोचसमेत बनाउनु भएको थियो । वन डिभिजनमा करारको जागिर छोडेर उहाँले व्यवसायमा हात हाल्नुभएको हो । अहिले भने उहाँ लगानी डुब्ने चिन्तामा हुनुहुन्छ । झन्डै २२ हजार रुपैयाँ बैंकको ब्याज तिर्नुपर्दा सकस छ । उहाँ भन्नुहुन्छ, “आम्दानी सुको छैन । बैंकको ऋण तिर्न र परिवार पाल्नका लागि अब तरकारी खेती गर्ने सोचमा छु ।”

राप्ती सोनारी गाउँपालिकामा पर्ने नयाँ गाउँ होमस्टेको अवस्था पनि उस्तै छ । यहाँका प्रायः व्यवसायी विकल्पका रूपमा कुखुरापालन र तरकारी खेती गर्न थालेका छन् । दुई वर्षदेखि होमस्टे सञ्चालनको अनुभव बटुलेकी नानीकला जैसीले होमस्टे चलाउन नसकेपछि तरकारी खेती गर्न थालेको बताउनुभयो । “पहिला पाहुनाकै सत्कारमा समय दिन भ्याइनभ्याइ हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले कोरोनाको डरले होमस्टे सञ्चालन नभएपछि तरकारी बेचेर भए पनि घर खर्च चलाउन थालेकी छु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button