तपाईँ सुन्दै हुनुहुन्छः

क्यान पदाधिकारीहरुबाट निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुको टोलीले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको छ ।

क्यानका पदाधिकारीले मंगलबार बिहान धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको अवलोकन गरेका हुन् । कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको मध्ये २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ ।

भरतपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा बन्ने रंगशाला नेपालको मौलिकता झल्कने गरी कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ । बोर्ड बैठकको लागि चितवन पुगेका पदाधिकारीले रंगशालाको अवलोकन गरेका हुन् ।

क्यानको बोर्ड बैठक चितवनमा बसिरहेको छ । क्यान निर्वाचनको झण्डै एक वर्ष पुग्न लागेको अवस्थामा बोर्ड बैठक बसेको हो । बैठकका लागि मुख्य ४ वटा एजेण्डा तय गरिएको छ ।

बैठकले संघको आगामी साधारण सभाबारे निर्णय गर्नेछ । कोरोना महामारीका कारण संघको साधारण सभा प्रभावित बन्दै आएको छ । यस्तै, संघको आर्थिक वर्ष २०७१–७२ देखि २०७५–७६ सम्मको आर्थिक लेखापरीक्षण प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने एजेण्डा समेत तय गरिएको छ ।

बैठकमा अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग भएका पछिल्ला काम कारबाहीबारे जानकारी गराउने र विविध गरी ५ वटा एजेण्डा तय गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कोटामा नेपाल क्रिकेट संघको सदस्यमा मनोनयनमा परेका दुई सदस्य चुम्बी लामा र धर्मराज गिरीलाई औपचारिक रुपमा क्यानमा स्वागत गरिएको छ ।

चितवनमा जारी कार्यसमितीको बैठकमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लामा र गिरीलाई आधिकारिक रुपमा स्वागत गर्नुभएको हो ।

परिषद्ले क्यानको सदस्यमा मनोनयन गरेर पत्र दिएको करिब दुई महिनापछि उनीहरु क्यानमा आधिकारिक रुपमा प्रवेश गरेका हुन ।

उनीहरुको पत्र यसअघि नै क्यानमा पुगेपनि कार्यसमितीको बैठक बस्न नसक्दा त्यसले वैधानिकता पाउन सकेको थिएन । तर मंगलबारको बैठकबाट उनीहरु क्यानको कार्यसमितीमा प्रवेश गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button