तपाईँ सुन्दै हुनुहुन्छः

सौराहामा चल्न थाले पर्यटक बस

भरतपुर- चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो ।

सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौँ र काठमाडौँदेखि सौराहाका लागि दैनिक बस सञ्चालन गरेको छ । झण्डै नौ महिनासम्म थन्किएका बस खासै यात्रु नभए पनि सरकारको निर्णयअनुसार सञ्चालन गरिएको ट्राभलका सञ्चालक गणेश दाहालले बताउनुभयो ।

“बसको स्यानिटाइजेसन, यात्रुको सामाजिक दूरी, ज्वरो मापनसहितको उच्च स्वास्थ्य सुरक्षासहित सेवा थालिएको छ”, उहाँले भन्नुभयो । बाबा ट्राभल्सका दुई बस एउटा काठमाडौँ जाने र एउटा काठमाडाँैबाट सौराहा आउने गरेका छन् । “सौराहा आउने पर्यटक छैनन्”, दाहालले भन्नुभयो“ परिस्थिति सामान्य हुने आशमा बस चलाएका हौं ।” मङ्गलबार चितवनबाट १० यात्रु लिएर काठमाडौँ गएको बसले आज आठ यात्रु मात्र ल्याएर आएको उहाँले बताउनुभयो ।

सौराहाबाट चितवन सफारीले पनि काठमाडौँका लागि पर्यटक बस चलाउन शुरु गरेको छ । यस्तै संजोग ट्राभलले पोखराका लागि सौराहाबाट बस सञ्चालन गरेको क्षेत्रीय होटल सङ्घ सौराहाले जानकारी दिएको छ । सौराहामा पर्यटक बस चल्न थालेपछि केही आशा पलाएको सङ्घका अध्यक्ष दीपक भट्टराइले बताउनुभयो । उहाँले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेकाले क्रमिक सुधार हुने अपेक्षामा व्यवसायी रहेको बताउनुभयो ।

चितवनमा आन्तरिक पर्यटक बढ्दो अवस्था रहेको र अन्य जिल्लाबाट पनि आउन थालेका भट्टराइले जानकारी दिनुभयो । पर्यटक आउने वातावरण बनाउन सौराहाका व्यवसायीले आन्तरिक छुटसमेत दिइरहेको उहाँले बताउनुभयो । सामान्य अवस्थामा चितवनको सौराहाबाट काठमाडौँका लागि दैनिक आठ र पोखराका लागि चारसम्म पर्यटक बस सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button