तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बाल सङ्गठनको वर्तमान पदाधिकारीलाई १५ दिनभित्र कागजात हस्तान्तरण गर्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल सङ्गठनको विद्यमान अवस्था र सुधारका लागि आगामी कार्यक्रमका सम्बन्धमा सङ्गठनका पदाधिकारीसँग छलफल गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय निर्देशन ऐन २०१८ लाई समय सापेक्ष संशोधन गर्न समितिले सरकार, प्रधानमन्त्रीको कार्यालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपाल बाल सङ्गठनका नवनियुक्त अध्यक्ष विद्या न्यौपानेले पूर्व कार्यसमितिले आधिकारिक रुपमा आफ्ना अभिलेख एवं कागजातहरु हस्तान्तरण नगरेको गुनासो समिति समक्ष राखेपछि वर्तमान पदाधिकारीलाई १५ दिनभित्र कागजात हस्तान्तरण गर्न समितिले समाजकल्याण परिषद्लाई पनि निर्देशन दिएको छ ।

बालसंगठनका नाममा रहेका जग्गा र भवन विभिन्न निकायलाई लिजमा दिइएर पूर्व पदाधिकारीले आर्थिक अनियमिता गरेको सम्बन्धमा १५ दिनभित्र लिज सम्झौताहरु महिला तथा सामाजिक समितिलाई उपलव्ध गराउन नेपाल बालसङ्गठनलाई निर्देशन दिएको छ ।

बैठकमा समितिका सांसदहरुले नेपाल बालसंगठनमा रहेका बालबालिकाको अवस्था दयनीय बनाएर भवन र जग्गा लिजमा दिने पूर्व पदाधिकारीलाई कारवाही हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

बैठकमा बलसङ्गठनका नवनियुक्त अध्यक्ष न्यौपानेले बाल सङ्गठनभित्र धेरै अनियमिता भएको र त्यहाँ रहेका बालबालिकालाई उचित बास, पोषण र पठनपाठनमा समेत बेवास्ता गरी पूर्व पदाधिकारीले भवन र जग्गा लिजमा दिइएको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button