तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुको अति दुर्गम ङिमचोलामा गाउँघर क्लिनिक सञ्चालन

सोलुखुम्बु । सोलुखुम्बुको अति विकट क्षेत्रमा रहेको ङिमचोला भन्ने स्थानमा गाउँघर क्लिनिक सञ्चालन भएको छ । महाकुलुङ गाउँपालिका–५ स्थित ङिमचोलामा गाउँघर क्लिनिक सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् ।

ग्रामीण क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि ङिमचोलामा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले बताउनुभयो । गाउँघर क्लिनिकबाट परिवार नियोजन सम्बन्धी सेवा, गर्भ जाँच, प्राथमिक उपचार, खोप, पोषण लगायतका सेवा प्रवाह हुने गाउँपालिकाले जनाएको छ ।

महाकुलुङ प्राथमिक अस्पताल र गुदेल स्वास्थ्य चौकी पुग्नका लागि घण्टौ समय खर्चिनुपर्ने बाध्यता भएपछि गाउँपालिकाले एक सामूदायिक भवनमा प्रत्येक महिनाको १२ गते र २८ गते गुदेल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको उपस्थितिमा सेवा प्रवाह गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

यसले त्यस क्षेत्रका वृद्ध तथा बालबालिकालाई घर छेउमै सेवा उपलब्ध गराएपछि सहज हुने स्थानीय यूवा दापासा शेर्पाले बताउनुभयो । उहाँका अनुसार गुदेल स्वास्थ्य चौकी पुग्न करिब दुई घण्टा र महाकुलुङ प्राथमिक अस्पताल पुग्न चार घण्टा लाग्छ । गाउँपालिकाका विभिन्न ५ स्थानमा गत वर्ष देखि गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button