तपाईँ सुन्दै हुनुहुन्छः

मनाङको रसिलो स्याउ एक हप्तामा काठमाडौ आउने

काठमाडौं । मनाङ जिल्लामा व्यवसायिक रुपमा स्याउ खेती गरेर किसानहरुले राम्रो आम्दानी गर्न थालेका छन् ।

मनाङमा एग्रो मनाङप्रालिले स्याउ फार्म स्थापना गरेर व्यवसायिक स्याउ खेती शुरु गरेको चार वर्षमा स्थानीय किसानहरुले पनि आआफनो जमिनमा स्याउको खेती गर्न आकर्षित भएका हुन ।

मनाङमा ५ वर्ष अघि ३ सय ७५ रोपनीबाट शुरु भएको स्याउ खेतीको क्षेत्रफल हाल बढेर करिव ४ हजार रोपनीमा फैलिएको छ । स्याउबाट राम्रो आम्दानी भए पछि मनाङ एग्रोले स्याउ खेती विस्तार गरेको छ भने अन्य स्थानीय किसानहरुले पनि स्याउ खेती गर्न थालेका छन् ।

एग्रो मनाङ प्रलिले भिस्याङ गाँउपालिकाको भ्रताङ भन्ने स्थानमा ६८ हजार गोल्डेन, फूजी तथा गाला जातका विरुवा रोपेको जनाएको छ । यस वर्ष फार्मबाट ६ सय टन स्याउ उत्पादन हुने अनुमान गरेको र त्यस मध्ये ४ सय टन स्याउ बजारमा पठाउने तयारी भएको एग्रो मनाङ प्रालिका प्रवन्ध निर्देशक युवराज गुरुङले जानकारी दिनु भयो ।

त्यहाँ उत्पादित स्याउबाट जुस, सुकुटी र वाइन समेत बनाउने गरिएको छ । गत वर्ष मात्र वाइन बनाउने उद्योगहरुले कच्चा पदार्थको रुपमा ७० टन स्याउ किनेको र यस वर्षका लागि १ सय ५० टनको माग आएको गुरङले जानकारी दिनु भयो । एग्रो मनाङले मात्र जिल्लामा ४० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको जनाएको छ ।

यस वर्ष मात्र मनाङमा स्याउका ४३ हजार विरुवा रोपिएको छ । स्याउका विरुवा लगाउन तीनै तहका सरकारहरुले अनुदान सहित प्रोत्साहन गरेकोले यही गतिमा नेपालमा स्याउको खेती विस्तार भएको खण्डमा नेपाल छिट्टै स्याउ खेतीमा आत्मनिर्भर हुन सक्ने स्याउ जोन मनाङका संयोजक समेत रहनु भएका एग्रो मनाङका प्रवन्ध निर्देशक युवराज गुरुङले बताउनु भयो ।

जिल्लाका दानाक्यु, पाचे र तिल्चे गाउपालिकाका किसानहरुले गत वर्ष मात्र रोपेको स्याउको विरुवाले यस वर्ष फल दिएर बिक्री समेत गरेका छन् ।

स्याउ टिप्ने बेलामा पानी परेकोले एक हप्ता भित्रमा मनाङको स्याउ काठमाडौको बजारमा आइपुग्ने गरी पठाउने तयारी भएको एग्रो मनाङ प्रलिले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन कार्यान्वयन एकाइ लम्जुङका निमित्त प्रमुख हाँडिबहादुर मिजारले मनाङमा स्याउ खेतीको विकास र विस्तारका लागि ६० लाख बजेट विनियोजन गरेको र मनाङमा स्याउ खेती विस्तार भएर ३ सय ५० हेक्टर पुगेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button