तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको पुर्चौंडी नगरपालिकाद्वारा विद्यालय सञ्चालन

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाले आजदेखि विद्यालय सञ्चालन गरेको छ । कोभीड १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु यही असोज ७ गतेबाट सञ्चालन हुने पुर्चौंडी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयले जारी गरेको शिक्षण सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । नगरपालिकाभरीका सबै सामुदायिक विद्यालयहरुमा पठनपाठन सुचारु भाएको उहाँले बताउनुभयो ।

कोभीड १९ का कारण बालबालिकाहरुको शिक्षण सिकाई प्रभाव परेकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको बताउनुभयो ।

यसअघि क्वारेन्टाइन तथा आइसोलेसन रहेका विद्यालयहरुमा निसंक्रमिकरण गर्ने र सरसफाई गर्ने कार्य सम्पन्न गरेपछि पठनपाठन सुरु गरिएको हो ।

नगरपालिकाभरीका ३९ ओटा विद्यालयमा क्वारेन्टाइन र आइसोलन निर्माण गरिएकाले ती सबै विद्यालयमा निसंक्रमिकरण र सरसफाई गरिएको थियो । नगरपालिकाभरीका ७५ ओटा सामुदायिक विद्यालय मध्ये ३९ ओटामा क्वारेन्टाइन र आइसोलेसन निर्माण गरिएका थिए ।

विद्यालयमा बालबालिका पठाउँदा अनिवार्य रुपमा मास्क लगाएर मात्रै बालबालिकाहरुलाई पठाउन अभिभावकहरुलाई आग्रह गरिएको शिक्षा शाखा प्रमुख नागरीले बताउनुभयो ।

यस्तै विद्यार्थीहरुका लागि घरबाटै तयारी खाजा पठाउन पनि आग्रह गरिएको छ भने शिक्षकहरुलाई कक्षाकोठामा ग्लोभ्स लगायत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर पठनपाठन गराउन आग्रह गरिएको छ । यस्तै विद्यालयहरुमा पार्याप्त मात्रामा साबुन पानी र सेनेटाइजरको व्यवस्था गर्न पनि आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको शिवनाथ तथा पञ्चेश्वर गाउँपालिकाले भने यसअघि आइतबार देखिनै बिद्यालय खोलिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button