तपाईँ सुन्दै हुनुहुन्छः

खुले पनि वीरगञ्जका होटल सुनसान

वीरगञ्ज । वीरगञ्ज लगायत वारा, पर्सामा असोज १ गतेबाट होटलहरु खुले पनि आन्तरिक तथा बाह्य पर्यटक नआउँदा होटल व्यवसाय प्रभावित भएको छ ।

होटल क्षेत्रको करिव ९० प्रतिशत कारोबार हिस्सा ओगटेको पर्यटन क्षेत्र, सभा, गोष्ठीजस्ता कार्यक्रम नहुँदा होटलहरु रित्तै रहेको व्यवसायीहरुले बताएका छन् । स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पालना गरेर होटल खोलिए पनि पर्यटक र सामूहिक भेला हुन नसक्दा व्यवसायले गति लिन नसकेको होटल तथा पर्यटन व्यवसायी महासंघ पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो ।

सरकारले आवश्यक सतर्कता अपनाएर होटल खुला गर्न अनुमति दिएपछि अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका लागि छुट्याएका छन् । रेस्टुरेन्ट सेवा पनि दिएकै छन् ।

तर, होटलमा पाहुनाको उपस्थिति शून्य रहेको पन्तले बताउनुभयो । प्रदेश २ मा साना–ठूला गरी करिब १२ सय होटल सञ्चालनमा छन् ।

यकिन तथ्यांक नभए पनि विगतमा ती होटलले नाफा गरेको आधारमा व्यवसायीले प्रतिमहिना करिब डेढ अर्ब घाटा बेहोरिरहेका छन् ।

एक होटललाई मासिक कम्तीमा १ देखि २ लाखसम्म घाटा भइरहेको छ । यो हिसाबले प्रदेश २ का होटल व्यवसायीलाई प्रतिमहिना १ अर्ब ५० लाख घाटा भइरहेको पन्तले बताउनुभयो । आफुहरु अहिले पर्ख र हेरको अवस्थामा रहेको समेत पन्तले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button