तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरको पानी उद्योग सिल

बाँके । बाँकेको कोहलपुर नगरपालिकाको वडा नम्बर ११ मा रहेको मुक्तिनाथ ड्रिकिङ्ग वाटर उद्योगद्वारा सञ्चालित बर पिपल पानी उद्योग सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालयलगायतको संयुक्त अनुगमन टोलीले न्यूनतम पूर्वाधार बिना उद्योग सञ्चालनमा ल्याएको र यस अघिको पानी परीक्षणका क्रममा खान योग्य नदेखिएकोले उद्योग सिल गरिएको कोहलपुर नगरपालिकाका अधिकृत वीर बहादुर विकले जानकारी दिनुभयो ।
यस अघि सो उद्योगलाई पूर्वाधार उपयुक्त नरहेको भन्दै सुधारका लागि निर्देशन दिइएको भए पनि सुधार नगरी उद्योग सञ्चालन गरेको पाइएकाले उद्योग सिल गरिएको विकले बताउनुभयो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नाप तौल विभागको टोली, कोहलपुर नगरपालिका र प्रहरीको सहभागिता रहेको थियो ।
पानी उद्योग सञ्चालनका लागि आफ्नै ल्याब सञ्चालनमा ल्याउनु पर्ने, पानीको जार र बोतलमा उत्पादन मिति र ब्याच नम्बर लगाउनु पर्ने, पानीका जार उचित तवरले सरसफाइ गर्नु पर्ने प्रावधान रहेपनि उक्त उद्योगले त्यस्तो नगरेको पाइएपछि उद्योग सिल गरिएको हो ।
त्यसैगरि कोहलपुरकै वडा नम्बर १० मा रहेको झरना जल उद्योगलाई सुरक्षा मापदण्ड पुरा नगरी सञ्चालनमा ल्याइएको भन्दै सचेत बनाइएको छ । सो उद्योगलाई एक हप्ता भित्र कोहलपुर नगरपालिकामा दर्ता हुन, पानीका जार शुद्ध तवरबाट सफाइ गर्न , बजारमा पठाउँदा अनिवार्य सिल र लेबल लगाउन निर्देशन दिइएको विकले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा कोहलपुरमा सञ्चालित पानी उद्योगहरूले मापदण्ड पुरा नगरेको पाइएको बिको भनाई रहेको थियो । केही समय पहिले कोहलपुरको आरुष पानी उद्योग र मध्यपश्चिम पानी उद्योग पनि कारवाहीमा परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button