तपाईँ सुन्दै हुनुहुन्छः

एसियाली राजमार्गसँग जोडियो नेपाल

काठमाडौँ । नेपाली राजमार्ग एसियाली राजमार्गसँग जोडिएका छन् ।
नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो ।

एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा ७९० मिटर लम्बाइको पुल निर्माण भएसँगै नेपाल एसियाली राजमार्गसँग जोडिएको हो ।

मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ । यसअघि सीमापारि पनि ए क्लासको ‘एसियन हाइवे’ निर्माण गरिएको थिएन ।

एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मेची नदीमा पुल निर्माण भई सञ्चालनमा आएसँगै अब नेपालको पहुँच ए क्लासको ‘एसियन हाइवे’ सँग भएको बताउनुभयो ।

नेपालको पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्दछन् । पूर्व–पश्चिम राजमार्ग ‘एसियन हाइवे’ को रुट–२ र अरनिको राजमार्ग रुट–४२ अन्तर्गत पर्दछन् ।

एसियन हाइवेको रुट–२ थाइल्यान्डको बैङ्ककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर बनबासा र त्यहाँबाट भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ ।
त्यसैगरी, एसियन हाइवेको रुट–४२ अन्तर्गत भारतको रक्सौल हुँदै नेपालको वीरगञ्ज, नारायणगढ, काठमाडौँ भएर अरनिको राजमार्गको धुलिखेल, बाह्रबिसे, तातोपानी हुँदै चीनको ल्हासासम्म पुग्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button