तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बाख्रा पालन आयआर्जनको मुख्य माध्यम बन्दै

सल्यान । सल्यानमा आयआर्जनको महत्वपूर्ण माध्यमको रुपमा बाख्रापालन बन्दै गएको छ । बाख्रा पालनबाट लगानी अनुसारको प्रतिफल प्राप्त हुने गरेको भन्दै कृषकहरु बाख्रापालन व्यवसायलाई व्यावसायिक रुप दिन थालेका छन् ।

काठमाडाँैलगायतका स्थानमा खसी बोकाहरु निर्यात हुन थालेसँगै जिल्लाका कृषक बाख्रा पालनतर्फ आकर्षित बन्न थालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।

बाख्रापालनका लागि आवश्यक घाँस प्रशस्त मात्रामा पाइने भएका कारण पनि यो क्षेत्र बाख्रा पालनका लागि अत्यन्त उपयोगी बनेको कार्यालयका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए ।

व्यावसायिक बाख्रापालनका लागि पछिल्लो समयमा जग्गा भाडामा लिएर बाख्रापालन व्यवसायका लागि आउनेहरुको चाप पनि दिनप्रतिदिन बढी रहेको उनको भनाई छ । उनले भने ‘विगतका समयमा स्थानीय जातका मात्र बाख्राहरु पालिने गरेकोमा विगत केही समययता उन्नत जातका बाख्राहरु पनि पाल्न थालिएको छ ।’

सल्यानमा पाँच लाख बाख्रा रहेको अनुमान गरिएको छ । प्रत्येक घरका कम्तीमा पनि ५ वटासम्म बाख्रापालन भइरहेकाले सल्यानमा पाँच लाखभन्दा बढी बाख्रा रहेको उनको भनाई छ । सल्यानको खसी बोकाको मूल्य अन्य जिल्लाको भन्दा बढी जाने भएकाले पनि किसानहरुमा आकर्षण बढेको उपाध्यायको भनाई छ ।

लगानी अनुसारको राम्रो प्रतिफल प्राप्त हुने गरेको र दिनदिनै बढ्दै गएको मागको क्रमले बाख्रापालनतर्फ निकै आकर्षण बढेको कृषक कपुरकोट गाउँपालिका–५ रिमका किसान सुशील बोहराले बताए । ४५ लाख लगानीमा व्यावसायिक बाख्रापालन गरी रहेको उनको भनाई छ ।

सामान्य रूपमा आठ दश वटा बाख्रा पालेर पनि घरको दैनिक खर्च चलाउन सजिलो हुने भएका कारण पनि कृषकको रोजाइमा बाख्रापालन पर्दै गएको र यसले बिस्तारै व्यावसायिक रुप लिन थालेको उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button