तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा कोरोना संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु

तनहुँ । तनहुँमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको भिमाद–६ का एकै परिवारका ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गत असोज १९ गते तनहुँको भिमाद– ६ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । त्यस्तै, असोज २४ गते भिमाद–६ का ७५ बर्षीय पुरुष बि. एण्ड बि. अस्पताल काठमाडौँमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, असोज २५ गते भिमाद–६ का ९८ वर्षीय पुरुष मेडिसिटी अस्पताल काठमाडौँमा कोरोना कै कारण मृत्यु भएको हो । ९८ वर्षीय वृद्ध र उहाँका २ छोराको कोरोनाबाट मृत्यु भएको हो ।

मृत्यु हुने माइला छोरा र साइँला छोरा हुनुहुन्छ । बृद्धका कान्छा छोरामा १७ असोजमा कोरोना पुष्टि भएको थियो । अहिले उहाँ निको भएर घर फर्किनुभएको छ ।

संक्रमण पुष्टि भएका माइला छोराकी श्रीमती शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत हुनुहुन्छ । यस्तै, जेठा छोरासमेत कोरोना संक्रमित भएपछि अहिले काठमाडौंकै ह्याम्स अस्पतालमा उपचाररत हुनुहुन्छ । जेठा छोराकी बुहारी पनि अहिले कोरोनाका कारण होम आइसोलेसनमै रहनुभएको छ ।

योसंगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button