तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतको वीरेन्द्रनगरमा पाँच वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरी हस्तान्तरण

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सवा करोड बढी लागतका पाँच वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको छ ।

यूएनडीपी, अन्तरनिर्भर समाज सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा सामुदायिक पूर्वाधार विकास कार्यक्रम अन्र्तगत वीरेन्द्रनगर उपत्यकाका विभिन्न ठाउँमा निर्माण गरिएका पाँच वटा सार्वजनिक शौचालय निर्माणपछि सञ्चालनका लागि वडाहरुलाई हस्तान्तरण गरिएको हो ।

साझेदार संस्थाहरुले १ नम्वर वडाको वडा कार्यालय, ४ नम्वर वडाको जिरो ड्याम, ६ नम्वर वडाको बसपार्कमा, ८ नम्वर वडाको बुलबु्ले चोक र ९ नम्वर वडाको काँक्रेबिहारमा आधुुनिक सार्वजनिक शौचालय निर्माण गरेका छन् ।

अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक विवेक शाहीले पाँच ठाउँमा एक करोड २६ लाख ५३ हजार दुई सय रुपैयाँ लागतमा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरेन्द्रनगर नगरपालिकाको ४५ लाख ७० हजार पाँच सय, यूएनडीपीको ६८ लाख १७ हजार एक सय र उपभोक्ता समितिको योगदान १२ लाख ५६ हजार तीन सय रुपैयाँको लागतमा ती शौचालय निमार्ण सम्पन्न भएका हुन् ।

ती मध्ये ६ नम्वर वडाको बस पार्कमा बनाइएको शौचालय अपाङ्ग मैत्री रहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख देवकुमार सुवेदीले शौचालय निर्माणमा गरेका साझेदारीप्रति धन्यवाद व्यक्त गर्दे आगामी दिनमा पनि सहकार्य र समन्वयका लागि निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले सार्वजनिक शौचालय निर्माण भएपनि अब सञ्चालनमा वडा कार्यालयको महत्वपूर्ण भूमिका रहने भएकाले संरक्षण र सञ्चालनमा प्रभावकारिता ल्याउन सुझाव दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा १ नम्वर वडाका वडाअध्यक्ष गंगाराम सुुनार, ८ नम्वरका वडाअध्यक्ष थम्मप्रसाद गौतम, नौ नम्वर वडाका वडाअध्यक्ष सुरेश मान्धर, नगरपालिकाका प्रमुुख प्रशाुसकीय अधिकृत टिकाराम ढकाल र वरिष्ठ अधिकृत प्रकाश पौडेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button