तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा


सुर्खेत । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता आकर्षित भएका छन् । सरकारले चाडवाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुपथ मूल्य पसलसँगै अनलाइन होम डेलिभरी समेतको सेवा उपलब्ध गराएपछि उपभोक्ताको थप आर्कषण बढेको हो । बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य बस्तु किन्न पाउँदा उपभोक्ता खुसी भएका छन् ।

यता सुर्खेतमा चिनीको आपूर्ति नहुँदा साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्तालाई नून मात्र उपलब्ध गराइरहेको छ । कम्पनीको सुपथ मूल्य पसलबाट हाललाई चामल, तिते फापर र जुम्लाको सिमी विक्री वितरण भइरहेका छन् ।

सुपथ मूल्य पसलमा सोना मन्सुली चामल प्रतिकिलो ४५, सोना मन्सुली स्टिम चामल प्रतिकिलो ५७, जापानीज चामल प्रतिकिलो ५१ रुपैयाँ ५० पैसा, मकवानपुर चामल प्रतिकिलो ४८ रुपैयाँ ५० पैसा, कर्णालीको तिते फापर प्रतिकिलो ५० रुपैयाँ र कर्णालीको सिमी प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

बाहिरको दरभन्दा किलोमा ५ देखि १० रुपैयाँसम्म छुट गरिएको छ । सुपथ मूल्य पसलबाट उपभोक्ताले सामान किन्ने मात्रै नभएर गुणस्तरीय सेवा समेत लिने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयका प्रमुख भीमबहादुर थापाले बताउनुभयो ।

उहाँले चाडपर्वको समयमा सुपथ मूल्य पसलमा समानको अभाव हुन नदिन उचित व्यवस्थापन गरिएको बताउनुभयो ।

यो वर्ष कर्णालीका अन्य जिल्लाहरुमा भने सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन । यो वर्ष कोरोना महामारीले अनलाइन होम डेलिभरी सेवा समेत प्रभावकारी बन्दै गएको उहाँको भनाइ छ ।

‘बजार मूल्यभन्दा सस्तोमा चामल, तिते फापर, सिमी बिक्री हुन थालेपछि ग्राहकको पहिलो रोजाइ बनेको हो,’ उहाँले भन्नुभयो, ‘ खाद्यान्न किन्ने ग्राहकहरु हामी कहाँ किन्नुहुन्छ । बजार मूल्यभन्दा सस्तोमा दिएकै कारण हाम्रोमा ग्राहकको दैनिक भीड लाग्ने गरेको छ ।’ उहाँले दशैँ आसपाससम्म चिनी, नून, दाल, पिठो, तेल, केराउ दानालगायतका सामाग्री समेत उपलब्ध हुने जानकारी दिनुभयो ।

असोज १५ गतेदेखि सुरु भएको सुपथ मूल्य पसल मंसिर ६ गतेसम्म सञ्चालनमा रहने छ । पसल सञ्चालनमा आएदेखि ग्रामीण भेगबाट समेत खाद्यान्न किन्न सुपथ मूल्य पसलमा पुग्ने गरेको उहाँको भनाइ छ ।

यता उपभोक्ताले भने दशैँ अगावै चामल, तिते फापर, सिमीसँगै चिनी, नून, दाल, पिठो, तेल, केराउ दानालगायतका सामाग्री उपलब्ध गराउन माग गरेका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य भीमकुमारी भुसालले सुपथ मूल्य पसल शहर केन्द्रित रहेकाले ग्रामीण भेकसम्म पुर्याउन खाद्य व्यापार कम्पनीलाई आग्रह गर्नुभयो ।

खाद्य व्यापार कम्पनीले ग्रामीण भेगमा दैनिक सुपथ मूल्य पसल सञ्चालन गर्न नसकेपनि कम्तीमा घुम्ती सेवा सञ्चालन गरिनु पर्ने उहाँले माग राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button