तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका किसानहरू व्यावसायिक टिमुर खेतीतिर, मूल्य भने गिर्दो

सल्यान । मनग्य आम्दानी हुने भएपछि सल्यानका किसानले व्यावसायिक टिमुर खेती गर्दै आएका छन् । घरायसी प्रयोजनका लागि प्रयोग गर्दै आएका किसानहरू राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक खेतीमा लागेका हुन ।
स्थानीय सरकारले जडीबुटीको अनुसन्धान, विकास तथा खेती अन्तर्गत टिमुरलाई प्राथमिकताको सूचीमा राखेपछि किसानहरू टिमुर खेतीतर्फ आकर्षित हुँदै गएका हुन । ग्रामीण किसानहरूको जीवनस्तर उकास्न टिमुर निकै फलदायी रहेको बागचौर नगरपालिका ६ कोटबाराका कुल बहादुर वलीले बताए । गत वर्ष ७ क्विन्टल टिमुर विक्री गरेका वलीले यो वर्ष पनि ८ क्विन्टल जति हुने अनुमान गरेको बताए ।
सल्यानको हावापानी जडीबुटी खेतीका लागि उपयुक्त भएकाले आफूले पनि जडीबुटी खेतीमा लागेको छत्रेश्वरी गाउँपालिका वडा न २ का वडाध्यक्ष प्रेम खड्काले बताए ।
जिल्लामा वार्षिक १७ करोड भन्दा बढीको टिमुर निकासी हुँदै आइरहेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण निकासी नहुँदा यो वर्ष भने टिमुरले खासै मूल्य नपाएको व्यापारी हरी न्यौपानेले बताए । भारतका मुख्य कम्पनी डाबर र पतञ्जलिले माग नगरेपछि टिमुर थन्किएको उनको भनाई छ ।
अहिले तीन सय रुपैयाँमा कारोबार भएको उनको भनाई छ । विगतका वर्षहरूमा ६ सय रुपैयाँ देखि ८ सय रुपैयाँ किलोसम्म भएको टिमुर कोरोनाका कारण मूल्य घटेको उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button