तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडाई गर्न ३८ सय प्रहरी परिचालन

 सुर्खेत । दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै कर्णाली प्रदेशभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सक्रियता बढाएको छ । विशेष सुरक्षा योजना अन्तर्गत प्रदेशभर तीन हजार ७ सय ८९ जना प्रहरी परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँले चाडपर्वका बेला प्रदेशमा हुन सक्ने चोरी, डकैती, जुवातास, लुटपाट, कालोबजारी, सार्वजनिक यातायातका टिकटमा ठगी र सवारी कसुरलगायत अपराध नियन्त्रणका लागि आवश्यक जनशक्ति तैनाथ गरिएको बताउनु भयो । अवान्च्छित, अपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय चौविसै घण्टा तयार रहेको उहाँको भनाइ छ ।

‘प्रहरी सडक सुशासन, सार्वजनिक यातायातका साधनहरुको सहज आवागमन र दुर्घटना न्युनिकरणका लागि सीसीटीभी, राडर गनलगायतका प्रविधिको समेत अधिकतम् उपयोग गरिएको छ । खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको मिसावट, कालोबजारी रोकथाम तथा सहज आपूर्ति व्यवस्थामा प्रहरीको सक्रियता उतिकै रहनेछ,’ उहाँले भन्नु भयो, ‘खासगरी बजार क्षेत्रमा हुने पकेटमारी, चोरी, लुटपाट, गुण्डागर्दी र ठगि नियन्त्रणसँगै सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुहरु ठगिन नदिने र सामान झोला छुटी हराउन गएमा खोजतलास गर्ने, गराउने व्यवस्था समेत मिलाएका छौं ।’ उहाँले चाडपर्वको अवसरमा जुवातास, डाईस (लङगुर गुर्जा), कौडा खेल्ने जस्ता प्रवृतिहरु पुर्णतया निषेध गर्दे चोरी तस्करी तथा लागु औषधको ओसार पसार नियन्त्रण गरिने जनाउनु भयो ।

उहाँका अनुसार कर्णालीका दश वटै जिल्लामा चाडपर्व अवधिभर अवान्छित, अपराधिक गतिविधि तथा सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालय सहित मातहत जिल्लाहरुमा एक÷एक वटा कमाण्ड सेन्टरको समेत स्थापना गरिएको छ । त्यस्तै चाडपर्व अवधिभर प्रदेशका राजमार्ग सुरक्षा तथा ग्रामिण गस्तीका लागि १९० स्थानमा मोबाईल गस्तीसँगै २८ स्थानमा नियमित चेक प्वाईन्ट एवं ३९ स्थानमा ट्राफिकसहित आकस्मिक चेक प्वाईन्ट बनाईएका छन् ।

‘प्रदेशका २४ स्थानमा यात्रु सहायता कक्ष, ७४ स्थानमा पिकेटसँगै ६७ स्थानमा झै–झगडा, चोरी, लुटपाट, जुवातास, मापसे नियन्त्रण केन्द्र बनाईएका छन्,’ उहाँले भन्नु भयो, ‘वीस स्थानमा धार्मिक तथा पर्यटकीय स्थल सुरक्षासँगै १७ वटा बजार अनुगमन टोली गठन गरिएको छ । आवश्यकता अनुसार क्वारेन्टाईन र आईसोलेसन सुरक्षा ड्युटीसँगै ३१ स्थानमा बैंक एवं बित्तिय संस्था तथा आर्थिक कारोबार बढी हुने क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button