तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट चितवनमा एकैदिन तीन जनाको मृत्यु

चितवन । चितवनमा आज कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु भएको छ । मृतक मध्ये दुई जना चितवनका र एक जना रौतहटका रहेका छन् ।

भरतपुर अस्पतालमा उपचाररत रौतहटको माधवनारायण–७ की ७० वर्षीया महिलाको आज विहान ९ः२५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

असोज २९ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई ती महिला आइसोलेसनमा भर्ना भएकी थिइन् । असोज २८ गते संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन् ।

यस्तै, आजै विहान भरतपुर अस्पतालमा एक जनप्रतिनिधिको निधन भएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ का वडा सदस्य कोरोना संक्रमित ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको हो । असोज ३० गते खोकी र श्वासप्रश्वासमा समस्या भई उनी अस्पताल भर्ना भएका थए । उनमा असोज २८ गते संक्रमण पुष्टि भएको थियो । उनी क्यान्सर रोगको उपचार गराइरहेका थिए ।

भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको विहान १ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए । उनी नेपाली काँग्रेसबाट स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।

यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा खैरहनी नगरपालिका–६ की ६८ वर्षीया संक्रमित महिलाको पनि आज विहान मृत्यु भएको छ । कोभिड आइसीयूमा उपचाररत ती महिलाको विहान २ः०८ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

असोज २४ गते ज्वरो, खोकी र निमोनिया भई ती महिला अस्पताल भर्ना भएकी थिइन् । उनमा २७ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button