तपाईँ सुन्दै हुनुहुन्छः

‘जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकासका लागि पूर्ण सहयोग रहन्छ’

जनकपुरधाम । प्रदेश नंं २ का मख्यमन्त्री लालबाबु राउतले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकासका लागि प्रदेश सरकारको पूर्ण सहयोग रहने बताउनु भएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा कोरोना महामारीका बीचमा प्रयोगशालाले गरिरहेको योगदान निक्कै सराहनीय भएको बताउनु भयो ।

उहाँले प्रादेशिक ल्यावसहित सबै जिल्लाका ल्याबहरुलाई अत्याधुनिक बनाउनका लागि प्रदेश सरकारले सवै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउनु भयो ।

सामाजिक विकासमन्त्री नलव किशोर साहले प्रयोगशालाई अत्याधुनिक बनाउनका लागि सवै प्रकारको सहयोग गर्नका लागि तयार रहेको बताउनु भयो ।

सामाजिक विकासराज्य मन्त्री अभिराम शर्मा, मन्त्रालयका सचिव कृष्णप्रसाद कापरी, प्रदेश नंं २ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले पनि प्रयोगशालाले चुनौतीको समयमा गरेको सेवा प्रशंसनीय भएको बताउनु भयो ।

सो अवसरमा युएनडिपीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि स्वचालित आर एन ए एब्सट्रेक्सन मेसिन मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरिएको थियो ।

अध्यक्षको आसनबाट प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण कुमार मिश्रले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक बनाएर सर्प दंशको एन्टी स्नेक भेनमको उत्पादनका लागि सहयोग गरेको खण्डमा उत्पादन गर्न सक्क्षम भएको बताउनु भयो ।

कार्यक्रममा प्रयोगशालाको विकास तथा विस्तारमा सहयोग गर्ने रेडियो नेपालका जनकपुरधाम स्थित सम्वाददाता अजय कुमार झा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव प्रसाद यादव, नेपाली सेनाका ब्रिगेडियर जनरल सुरेश कार्की, मेजर जेनरल जोन एस खडका, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका तत्कालिन मेसु डा. चुमनलाल दास, नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सक डा. उदयनारायण सिंह सहित सुरक्षा तथा स्वास्थ्यकर्मीलाई मुख्यमन्त्री राउतले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button