तपाईँ सुन्दै हुनुहुन्छः

बडादशैं शुरु, आज घटस्थापना

काठमाडौं । यस वर्षको बडादशैँ पर्व आजदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगै यस वर्षको बडादशैँ शुरु भएको हो ।

यसका साथै आजदेखि नवरात्रि पनि शुरु भएको छ । नवरात्रिका अवसरमा नौ दिनसम्म विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहेको छ ।

भगवान रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्ति प्राप्तिका लागि शक्तिस्वरुपा महामाया भगवतीको आह्वान गरेको पौराणिक प्रसङ्ग अनुसार घटस्थापना गरिन्छ ।

आज हिन्दृु धर्मावलम्बीहरुले आ–आफ्नो पूजाकोठा वा दशैघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गरी माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अध्याँरो कोठामा जौ, मकै रोपेर जमरा राखी पञ्चरत्न चढाई शक्तीरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ ।

यसरी उमारेको जमरा विजयादशमीको दिन मान्यजनहरुबाट टीका ग्रहण गर्दा लगाइन्छ ।

नेपालीहरुको महान् चाड बडादशैका अवसरमा यस वर्ष देशभरका शक्तिपिठमा नित्य पुजा हुने भए पनि भक्तजनको दर्शनका लागि भने खुला नगरिने भएको छ ।

सर्वसाधारणलाई कोरोना संक्रमणबाट बच्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी देशभरका शक्तिपीठ नखोल्न पनि आवहान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button