तपाईँ सुन्दै हुनुहुन्छः

स्युचाटारमा खुला व्यायामशाला

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका– ९ स्युचाटारमा खुला व्यायामशाला सञ्चालनमा आएको छ ।

नगरपालिकाको सहयोगमा तारकेश्वर युवा क्लबले निर्माण गरेको उक्त व्यायामशालाको आज नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो ।

सो अवसरमा नेता सिंहले अहिलेको कोरोना महामारीको समयमा सामुदायिक उद्यान आवश्यक रहेको बताउनुभयो । उक्त व्यायामशाला झण्डै ११ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई समेट्ने गरी खुला उद्यान निर्माण गरिएको जानकारी दिँदै तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले नगरवासीलाई स्वस्थ राख्न खुला व्यायामशालाको अवधारणा अघि बढाइएको बताउनुभयो ।

उद्यानभित्र खुला व्यायामशाला, बालोद्यान, बहुउद्देशीय कभर्ड हल, सेभेन ए साइड फुटबल मैदानलगायत पूर्वाधार निर्माण गरिएको छ । व्यायाम गर्नका लागि १६ उपकरण जडान गरिएको छ ।

उक्त उद्यानमा सबै उमेर समूहका व्यक्तिले जुनसुकै समयमा पनि व्यायाम गर्न सक्ने सुविधा छ । अत्याधुनिक उपकरणसहितको उद्यान देशकै पहिलो भएको नगर प्रमुख मोहनबहादुर बस्नेतले जिकिर गर्नुभयो । उद्यान स्थापनाको अभियान नगरका १० वटै वडामा विस्तार गरिने जनाइएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button