तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वलाई लक्षित बजार अनुगमन


सुर्खेत । चाडपर्व नजिकिएसँगै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बजार अनुगमनमा केन्द्रित भएको छ । वीरेन्द्रनगर नगरपालिकाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको दैनिक उपभोग्य वस्तुको गुणस्तर, नापतौल एवं कालाबजारी गर्ने माथि निगरानी एवं नियन्त्रण गर्न ‘स्पट कार्वाही’ अनुगमनलाई प्रभावकारी बनाएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पौडेल नेतृत्वको बजार अनुगमन टोलीले सोमबार हटियालाईन, ऐरीचोक एवं बाङ्गेसीमल लगायतका पसलहरुमा छट्के अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीलाई खासै कैफियत नभेटिएपनि केही पसलमा ढक, तराजुको कागजात दुरुस्त (अद्यावधिक) नगरेको पाईएको अनुगमन अधिकृत पौडेलले बताउनु भयो ।

‘केही किराना पसलहरुले ढक, तराजुको कागजात दुरुस्त (अद्यावधिक) नराकेको पाईयो,’ उहाँले भन्नु भयो, ‘त्यस्ता विक्रेतालाई ३ देखि ७ दिनभित्र नापतौल कार्यालयमा गएर कागजात अद्यावद्यिक गरेर नगरपालिकामा उपस्थिति हुन निर्देशन दिएका छौं ।’ उहाँले बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण गरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमन टोलीले ‘स्पट कारवाही’ गर्ने बताउनु भयो ।

उपभोक्ताको साथ खेलवाड गर्ने विक्रेतालाई बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण ऐन अनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवानासँगै जेल सजायको व्यवस्था रहेको उहाँको भनाइ छ । अनुगमन टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्नेछन् । चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्ने लगायतका समस्या देखिने गरेकाले दशै लक्षित अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाइएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख तथा बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष मोहनमाया ढकालले बताउनु भयो । उहाँले वीरेन्द्रनगरका सबै वडाहरुमा अनुगमन टोली परिचालन गरिएकाले उपभोक्ताको प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुको आपूर्ति सन्तुलन तथा मूल्य नियन्त्रणमा समेत ध्यान दिन निर्देशन गरिएको जनाउनु भयो ।

बजार अनुगमनलाई दण्डात्मक हिसावले मात्र नबुझि दिन आग्रह गर्दे उपप्रमुख ढकालले उपभोक्ता हित संरक्षणका लागि जनचेतनामुलक उद्देश्यले समेत रहेको जिकिर गर्नु भयो । ‘चार्डपर्व तथा कोरोना संक्रमणको जोखिमको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा वीरेन्द्रनगरका बजार क्षेत्रलाई बढी केन्द्रित गरिएको छ,’ उहाँले भन्नु भयो, ‘सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालन गरिने भएकाले सबैले नागरिकले आ–आफ्नो तर्फ बाट सजक र सचेत हुनु हुनेछ ।’

विशेष गरेर चाडवाडको अवसरमा अखाद्य वस्तु विक्री हुने, अधिकतम मुल्य भन्दा बढी मुल्य लिने जस्ता क्रियाकलापबाट उपभोक्ता मारमा पर्ने गरेको यथार्थलाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकाले बजार अनुगमन शुरु गरेको उहाँको भनाइ थियो । यता उपभोक्ताकर्मीहरुले भने हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै विभिन्न निकायबाट गरिने कर्मकाण्डी बजार अनुगमनले तीब्रता पाएपनि कार्वाही भने फितलो हुने गरेको गुनासो गरेका छन् । बजार अनुगमनमा वीनपासँगै जिल्ला प्रशासन कार्यालय, विषय विशेषज्ञ, पत्रकार, राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेत उद्योग वाणिज्य संघ, तथा नगर प्रहरीको सहभागिता रहने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button