तपाईँ सुन्दै हुनुहुन्छः

लालपुर्जा दिलाउन खटिएका ४ जना कर्मचारी उत्कृष्ट

अछाम । भदौ महिनादेखि अछाममा उत्कृष्ट कर्मचारी छनौट गरी पुरस्कृत गर्ने गरिएको छ । जस अनुसार असोज महिनामा ४ जना कर्मचारीलाई असोज महिनाको उत्कृष्ट कर्मचारीको रुपमा छनौट गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका बसेको कार्यालय प्रमुखहरुको बैठकले कार्य सम्पादनका आधारमा उत्कृष्ट कर्मचारी छनौट गर्ने कार्य गरेको हो । जस अनुसार असोज महिनामा जिल्ला नापी कार्यालय र मालपोत कार्यालयमा कार्यरत ४ जना कर्मचारी उत्कृष्ट कर्मचारी छनौट भएका अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनु भयो ।

असोज महिनामा जिल्ला नापी कार्यालयमा कार्यरत सर्वेक्षक गोपालसिंह कुँवर र अमिन सन्तोष कुमार गुप्ता तथा जिल्ला मालपोत कार्यालयमा कार्यरत खरिदार ईन्द्र बहादुर चौधरी र कार्यालय सहयोगी लक्ष्मण कुँवर उत्कृष्ठ कर्मचारी घोषित भएका छन् ।

पछिल्लो एक महिनामा उनीहरुको अहोरात्र खटनपटनले मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीमा ३२ बर्षमा पहिलो पटक जग्गाधनि प्रमाण पुर्जा वितरण गर्न सफल भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भदौ महिनामा शान्तडा प्रहरी चौकीमा कार्यरत १२ जना प्रहरीलाई उत्कृष्ट छनौट गरिएको थियो ।

भदौ २ गते राती आएको बाढीले समस्याग्रस्त रामारोशनमा अहोरात्र खटिएर काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक गोविन्द माझी सहित १२ जना प्रहरीलाई उत्कृष्ट घोषणा गरिएको थियो । उनीहरुलाई जिल्ला प्रशासनको समन्वयमा रामारोशन गाउँपालिकाबाट जनही पाँच हजार पुरस्कार समेत दिईएको थियो ।

उत्कृष्ट कर्मचारी छनौट कार्यबाट हरेक कर्मचारीमा काम गर्न हौसला प्रदान हुने गरेको र कर्मचारीमा समेत जिम्मेवारीबोध हुने भएकाले यो कार्य गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button