तपाईँ सुन्दै हुनुहुन्छः

जिसस पर्वतका प्रतिनिधीद्धारा दशैँ भत्ता कोरोना कोषमा जम्मा

पर्वत । जिल्ला समन्वय समिति पर्वतका जनप्रतिनिधिद्धारा कोरोना कोषमा रु २ लाख ३५ हजार रुपैयाँ सहयोग गरेका छन् । कोरोना भाईरस (कोभिड(१९) को महामारीले विश्व आक्रान्त बनेका वेला नेपाल पनि यसको चौतर्फी चपेटामा परेको छ । यस्तो अवस्थामा समन्वय समितिका जनप्रतिनिधिहरुले राज्यबाट पाउने चाडपर्व सुविधाको रकम कोरोना कोषमा जम्मा गरिएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार प्रमुख, उपप्रमुख र जिल्ला  समन्वय समितिका सदस्यहरूले चाडपर्व खर्चको रूपमा पाउने  २ लाख ३५ हजार रकम कोरोना कोषमा जम्मा गरिएको एक विज्ञप्ति प्रकाशित गरी जानकारी गराइएको छ । कोरोनाले देशको समग्र क्षेत्रमा पारेको प्रभावले राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको सन्दर्भमा कोरोना सङ्क्रमितहरूको उपचार र राहत सहयोग मिलोस् भन्ने उद्देश्यले आफूहरूले पाउने रकम पुन राज्यकै कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो । यसले कोरोना सङ्क्रमितको उपचारमा केही सहज हुने विश्वास जनप्रतिनिधिहरूको रहेको छ ।
यस वर्ष महामारीले ग्रसित बनेको छ । सहज अवस्था भएमा चाडबाडहरू अर्को वर्ष मनाउँला भन्दै समन्वयका पदाधिकारीले स्वतः स्फूर्त रूपमा उक्त रकम जम्मा गरेको उपप्रमुख यामकुमारी रानाले बताउनुभयो । अर्थतन्त्रमै समस्या भएका कारण कोरोना सङ्क्रमितको उपचारका लागि राज्य समस्यामा परेको बेला सबै क्षेत्र वाट यस्तै सहयोगको खाँचो रहेको रानाको भनाई रहेको छ ।
समन्वय समिति पर्वतको प्रमुखमा पौडेल र उपप्रमुख राना सँगै सदस्यहरूमा कविता विक, विष्णुराम विक, नन्दलाल सुवेदी, ज्ञानबहादुर भण्डारी, ओमप्रसाद रेग्मी, विष्णुमाया पौडेल र शर्मिला नेपाली रहनुभएको छ । उहाँहरू ९ जनाले चाडबाड खर्च बापत पाउने रकम जम्मा गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button