तपाईँ सुन्दै हुनुहुन्छः

बिद्युत् सेवा पुगे पछि उज्यालो वडा घोषणा

भोजपुर । बिद्युतीकरणको कार्य सकिएर बिद्युत् बल्न थाले पछि भोजपुरको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिका भित्रका वडाहरूलाई उज्यालो वडा घोषणा गर्न सुरु गरिएको छ ।
गाउँपालिका र नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रको समन्वयमा गाउँपालिका भित्र बिद्युत् सेवा पुगे पछि वडाहरूलाई उज्यालो वडा घोषणा गर्न सुरु गरिएको हो । गाउँपालिकाको ९ वटा वडा मध्ये तीन वडा उज्यालो वडा घोषणा भैसकेको छ ।
गाउँपालिकाको वडा नम्बर ४ नागीमा २ सय ५० घरधुरी, वडा नम्बर ६ कोटमा ३ सय ५० र वडा नम्बर ७ कोटका ३ सय ७५ घरधुरीमा बिद्युत् सेवा पुगे पछि ती वडाहरू उज्यालो वडा घोषणा भएका हुन । गाउँपालिकाको पहलमा टेम्केमैयुङ गाउँपालिका क्षेत्रमा बिद्युतीकरण कार्य भएको नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले  जनाएको छ ।
गाउँपालिकाले बिद्युत् प्राधिकरणसँगको समन्वयमा आफ्नो क्षेत्रमा छोटो समयमा बिद्युतीकरण गरेर सेवा सुचारु गर्न सफल भएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताउनु भयो । अध्यक्ष राईले भन्नुभयो “बिद्युतीकरणलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरियो, जसका कारण आज गाउँपालिकाका सबै जनताले उज्यालोमा पाए ।”
नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रविन बाबु घिमिरेले टेम्के मैयुङ गाउँपालिकाले आफ्नै लगानीमा बिद्युतीकरणका सामाग्रीहरू खरिद गर्नु र प्राधिकरणसँग समन्वय गरेका कारण बिद्युतीकरण कार्य भएको बताउनु भयो ।
गाउँपालिकाभित्र स्थानीय खोलाबाट निकालिएको बिद्युत् सेवा समेत सुचारु रहेकाले सो वडाका सबै वडामा बिद्युत् सेवा पुगेको छ भने प्राधिकरणबाट मात्र टेम्केमैयुङ गाउँपालिका भित्र करिब ८६ प्रतिशत बिद्युतीकरण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button