तपाईँ सुन्दै हुनुहुन्छः

घरदैलो स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले घरदैलो स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । ग्रामीण भेगका नगरवासीहरू मध्ये सामान्य स्वास्थ्य क्षेत्रको पहुँचबाट समेत बाहिर रहेका नागरिकको स्वास्थ्य चेकजाचका निम्ति नगरपालिकाले वडा नम्बर ९ स्थित खल्ला मछेट्टीमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नगरपालिकाले आज सन्तुलित वातावरण सुशासन सहितको समाजवाद उन्मुख नगर, कृषि पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार भन्ने मूल नाराका साथ एक दिने मेयर गाउँघर विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।
विकासको नाममा पनि नगरकै दुर्गम क्षेत्र मानिने खल्ला क्षेत्रका स्थानीयलाई स्वास्थ्यको पहुँच पुर्‍याउन राहत स्वरूप मेयर गाउँघर विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । उक्त शिविरमा नगरपालिकाले २ जना विशेषज्ञ डाक्टर सहित गर्भवती महिलाहरूको लागि अल्टा«साउन्ड सेवा, दम, सुगर, उच्च रक्तचाप, दिर्घरोगी, बाल रोग लगायतका विभिन्न खालका बिरामीको लागि स्वास्थ्य सेवा प्रदान गरेको छ ।
नगर प्रमुख सुरेन्द्र विष्टले मेयर गाउँघर विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रमले खल्ला मछेट्टी क्षेत्रको स्वास्थ्य क्षेत्रमा केही भए पनि राहत गर्ने विश्वास गरेको बताउनु भएको छ ।
विकासको पूर्वाधारबाट टाढा परेको नगरकै दुर्गम क्षेत्र खल्ला मछेट्टी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीय भने खुसी भएका छन् ।
मेयर गाउँघर विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रममा खल्ला मछेट्टी र टुँडिखेल गरेर झन्डै ७ सय घरपरिवार रहेका छन् । तर नगरपाकिाले लगाएको स्वास्थ्य शिविर कार्यक्रममा भने करिब ३ सय बिरामीले स्वास्थ्य सेवा लिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button