तपाईँ सुन्दै हुनुहुन्छः

डम्पिङ साइडको फोहोर जलाउँदा स्थानीयबासीलाई सास्ती 

सल्यान । शारदा नगरपालिकाले फोहर व्यवस्थापनका लागि निर्माण गरेको डम्पिङ क्षेत्रका स्थानीयले जथाभाबी रूपमा फोहर जलाउँदा दुर्गन्धित भएको बताएका छन् ।
वडा नम्बर ३ को टिमुर खोला टोल विकास  क्षत्रको सुकेखोला किनारको बस्ती नजिकै रूपमा फोहर फाल्दा र जलाउँदा आफूहरूलाई सास्ती भएको स्थानीयको भनाई छ ।
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि प्रयोग गर्दे आएको डम्पिङमा अहिले फोहोरको मात्रा बढ्दै गएपछि कुहिने नकुहिने फोहर नछुटयाई आगो लगाउँदा स्थानीयहरूले सास्ती भोग्दै आएको टिमुर खोला टोल विकास संस्थाका सचिव नरेन्द्र वलीले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले फोहोर व्यवस्थापनका लागि ठाउँको प्रयोग गर्दा स्थानीयको अनुमति नलिएको र अहिले डम्पिङको उचित व्यवस्था नगर्दा स्थानीयलाई मात्र होइन,  हिडने मान्छेहरूलाई पनि सास्ती भएको बताए  ।
उनले भने ‘कुहिने, नकुहिने फोहर एकै ठाउँमा राखेर जलाउँदा हामीलाई समस्या भएको छ, जथाभाबी फोहरको धुवाले हाम्रो स्वास्थ्यमा समेत असर पर्न थालेको छ, मास्क लगाएर काम गर्दै आएका छौ ।’
नजिकै पानीको मुहान, खोलामा समेत यसको पर्यावरणीय तथा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने भन्दै स्थानीय चिन्तित भएको उनको भनाई छ । पटक पटक नगरलाई व्यवस्थापन गरिदिन आग्रह गर्दा समेत अहिले सम्म फोहोरको व्यवस्थापन हुन नसकेको उनले बताए  ।
फोहोर मैला व्यवस्थापन ऐन २०७० को दफा ४ को उपदफा ३ मा फोहरमैला निष्कासन व्यवस्थापनका लागि स्थान र तरिका, स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि ध्यान दिनु पर्ने कुरा लेखिए पनि त्यसको सही ढङ्गले कार्यान्वयन हुन नसकेको वलीको भनाई छ ।
खलङ्गा र श्रीनगर बजारमा सङ्कलन भएको फोहोर डम्पिङ साइटमा थुपारिदा हिँडडुल गर्न समेत गाह्रो भएको अर्का स्थानीय गङ्गा प्रसाद केसीले बताए ।  पटक पटक स्थानीयले लिखित तथा मौखिक रूपमा नगरपालिकालाई जानकारी गराउँदा समेत यसको व्यवस्थापनका लागि कुनै काम अगाडी बढाउन नसकेको उनले बताए ।
यता नगरप्रमुख सुरेश अधिकारीले बस्ती बस्नु भन्दा पहिले नै शारदा नगरपालिकाले फोहर व्यवस्थापन गर्ने डम्पिङ साइड निर्माण गरिएको बताए । डम्पिङमा यदि फोहर अव्यवस्थित भएको भए स्थानीयवासीको समस्यालाई सम्बोधन गरिने उनको भनाई छ ।
स्वास्थ्य र सरसफाईको मापदण्ड तयार गरी यस क्षेत्रका स्थानीयलाई मर्का नपर्ने गरी अर्को स्थानमा डम्पिङ निर्माणको व्यवस्था गरिने नगरप्रमुख अधिकारीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button