तपाईँ सुन्दै हुनुहुन्छः

खिजीकातीमा एकल पुरुषलाई पनि मासिक भत्ता वितरण शुरु

ओखलढुंगा । ओखलढुंगाको खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्बा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो ।

७० वर्ष माथीकाले जेष्ठ नागरिक भत्ता पाउने भएपनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुषहरु साहारा विहिन बनेकाले उनीहरुलाई वडाको बजेटबाट मासिक ५०० आर्थिक सहयोग गरेर सम्बोधन गरिएको वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय तथा दलित बालबालिका र अपाङ्गता भएकाहरुलाई सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरणसँगै एकल पुरुषलाई पनि मासिक भत्ता वितरण गर्न थालिएको अध्यक्ष न्यौपानेको भनाई छ ।

‘हामी घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बाड्छौं । ७० वर्ष माथिकालाई भत्ता दिइरहँदा त्यो उमेर नपुगेका साहारा विहिन एकल पुरुषहरुको पीडा असाध्यै दुःख लाग्दो पाईयो । त्यसैले वडाबाट विशेष कार्यक्रम बनाएर एकल पुरुष भत्ताको कार्यक्रम ल्याएको हुँ ।’ वडा अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘जनताका माग र आवश्यकता हेरेर हजारौं योजना बनाइएको छ तर वडामा स्रोत सिमित छ । सिमित स्रोतलाई नै व्यवस्थापन गरेर एकल पुरुषलाई मासिक भत्ता दिन थालेका छौं । यो पर्याप्त नहोला तर सुरुवात हो, यसले एकल पुरुषहरुलाई केही सहज हुने अपेक्षा गरिएको छ ।’ सबै नागरिकलाई स्थानीय सरकारका तर्फबाट अभिभावकत्व दिने वडाको नीति अनुसार एकल पुरुष भत्ता कार्यक्रम ल्याइएको उहाँको भनाई छ ।

यो वर्षबाट खिजीकातीका ६० देखि ६९ वर्ष उमेरका ७ जना एकल पुरुषले मासिक ५०० का दरले एकल पुरुष भत्ता खान थालेका छन् । जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता सँगै वडाले एकल पुरुषलाई यसवर्षको मासिक भत्ता वापत पाउने ६ हजार रकम वितरण गरिसकेको छ ।

खिजीदेम्बा ४ मा १५ जना एकल पुरुष छन् । उनीहरु मध्ये ८ जना ६० वर्ष मुनिका छन् । ६० वर्ष मुनिका एकल पुरुषहरु आफैं सक्षम हुने भएकाले ६०–६९ वर्षका एकल पुरुषलाई मात्रै मासिक भत्ता दिन थालिएको हो । ७० वर्ष पुगेपछि सरकारको नियमित सामाजिक सुरक्षा भत्तामा सहभागी गराइने वडाले जनाएको छ ।

वडा कार्यालयले मासिक भत्ता दिन थालेपछि खिजीकातीका एकल पुरुष पनि खुशी छन् । सरकारको सामाजिक सुरक्षा भत्ता पाउने उमेर नपुग्दै वडाबाट विशेष व्यवस्था गरेर भत्ता दिन थालेपछि खुशी लागेको स्थानीय सन्तलाल तामाङले बताउनुभयो । ‘भत्ता खान ७० वर्ष पुग्नुपर्छ भन्थे । हाम्रो वडाअध्यक्षले ७० नपुग्दै भत्ता खुवाए ।’ तामाङले भन्नुभयो, ‘चुनावमा भोट माग्दा तपाइहरुको हितमा हुनेसम्म राम्रो काम गर्छु भन्थे, गर्दै पनि छन् । एकल पुरुषलाई पनि सम्झीएर मासिक ५ सय दिए । ओखतिमुलो किन्ने खर्च भयो । अलिक बढाएर दिए नुन भुटुन खान पनि पुग्थ्यो ।’ अर्का एकल पुरुष खुदबहादुर सुनुवारले राज्यले एकल पुरुषका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘पीडा त अनेक छन् नि छोरो मान्छे रोएर हिँड्ने कुरा भएन । एकल पुरुषका पीडा सरकारले पनि बुझ्दैन । हाम्रो वडाले भत्ता नै दिन थाल्यो अब अरु पनि कार्यक्रम ल्याउने आशा छ ।’ खिजीकातीका एकल पुरुषले वडाले दिन थालेको मासिक ५ सय भत्तालाई आगामी वर्षबाट बढाएर दिन माग गरेका छन् ।

खिजीदेम्बा ४ का वडाअध्यक्ष न्यौपानेले व्यक्तिगत तथा संस्थागत रुपमा जनपक्षिय काम गर्दै आउनु भएको छ । व्यक्तिगत खर्चमा गाउँका गर्भवती महिलालाई पोषिलो खानेकुरा वितरण, महिला स्वास्थ्य स्वयं सेविकाको स्वास्थ्य बीमा, कोरोनाको संक्रमणबाट बच्न सरसफाईको सन्देश सहित वडाका सबै घरमा हातधुने साबुन वितरण सहितका सहयोग गर्दै आएका छन् । वडाको बजेट र पालिका तथा अन्य निकायसँगको साझेदारीमा युवा तथा महिलाको क्षमता विकास, विद्यार्थी तथा बुहारी छात्रवृत्ति लगायतका विभिन्न नयाँ कार्यक्रमहरु खिजीकातीमा सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button