२०७७ साल मंसिर १२ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट बच्न व्यक्तिगत सर्तकता महत्वपूर्ण : डा. विनोद दंगाल

रेडियो नेपाल २०७७ कार्तिक १४ गते १५:३३

डा. विनोद दंगाल न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक हुनुहुन्छ । दोलखा सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पताल (प्राथामिक स्वास्थ्य केन्द्र) मा न्याय हेल्थ नेपालको तर्फबाट कार्यरत उहाँको अवधि केही समयपछि सकिदैछ ।

हाल कोरोना सङ्क्रमितसँगै अन्य सम्पूर्ण विरामीहरुको उपचारमा फ्रन्ट लाइनमा बसेर सेवा दिँदै आउनुभएका डा दंगालले दोलखालीहरुलाई विगत १० बर्षदेखि उपचार सेवा प्रदान गर्दै आउनुभएको छ ।

कोरोनाको यो अवधिमा डा.दंगालले कोरोनाका कारण काठमाडौँलगायत देशका बिभिन्न ठाँउबाट फिर्ता पठाएको विरामीहरुलाई समेत उपचार सेवा दिनु भएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीसँग केन्द्रित रहेर रेडियो नेपालका दोलखा सम्वाददाता चिरञ्जीवी मास्केले डा.दंगालसँग गर्नु भएको सम्वादः

प्रस्तावित चरिकोट अस्पतालमा दोलखा जिल्लाको मात्र हैन कोरोना महामारीका कारण उपचार पाउन नसकेका अन्य जिल्लाबाट आउने विरामीको समेत उपचार भै रहेको छ, कोरोना सङ्क्रमितसँगै अन्य विरामीहरुको समेत उपचार गर्न कस्ता कस्ता समस्याहरु देखिएका छन् ?
–कोरोना महामारीको बेला दोलखाको भीमेश्वर नगरपालिकाको क्राइसिस मेनेजमेन्ट कमिटीको निर्णय अनुसार हालसम्म अस्पतालले सात सयभन्दा बढीको पिसिआर टेष्ट र ६० जनाको प्रत्यक्ष रुपमा आइसोलेसनमा उपचार गरेको छ । साथै ननकोभिड विरामीहरुको लागि प्रसुती सेवा, सल्यकृया सेवा, आकस्मीक सेवा, दीर्घ रोगीहरुको लागि उपचार सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा विशेष गरी पिसिआर परिक्षणको लागि काठमाडौँ पठाउनु पर्ने भएकोले रिर्पोट आउन ढिलाई हुने, कोरोनाको गम्भीर विरामीको लागि भेन्टिलेटर र आवश्यक दक्ष जनशक्ति नहुँदा काठमाडौँ पठाउनु पर्ने, स्वास्थ्यकर्मीहरुलाई कोरोना सङ्क्रमण भएको अवस्थामा बैकल्पिक व्यवस्थापन गर्न नसकिने जस्ता समस्या रहेको छ ।

कोरोना रोगको निश्चित उपचार विधि या भनौ औषधि पत्ता लागिनसकेको अहिलेको अवस्थामा यसबाट जोगिन स्वास्थ्यकर्मी तथा सर्वसाधारणले अपनाउनु पर्ने सर्तकता के–के हुन् ?
–कोरोना सङ्क्रमण सबैलाई देखिने खतरा रहेकोले विशेष गरी घर बाहिर निस्कदा मास्कको प्रयोग गर्ने, निश्चित दूरी कायम गर्ने, काम गर्ने ठाँउमा झ्याल ढोका खोलेर उचित भेन्टिलेसनको व्यवस्था गर्ने, जेष्ठ नागरिक, दीर्घ रोगी तथा एम्युन सम्बन्धि समस्या भएका व्यक्तिहरु घरमै बस्ने र आवश्यक दूरी कायम गर्ने, रोग प्रतिरोधात्मक क्षमताको विकासको लागि ताला तथा पोषिला खानेकुरा खाने, व्यायाम गर्ने, प्रयाप्त निन्द्रा पुर्याउने, तनाव नलिने जस्ता व्यक्तिगत सर्तकता अपनाउनुपर्छ ।

तपाई दोलखा जिल्लामा १० बर्षदेखि विरामीको सेवामा रहनु भएको छ, दोलखामा विशेषगरी कस्ता विरामीहरु धेरै रहेका छन् र उनीहरुले जिल्लामै उचित उपचार पाउने अवस्था निर्माण गर्न सरकारले कस्ता व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ ?
– मेरो १० बर्षको अनुभवमा दोलखामा विशेषगरी ग्यास्ट्रिक, दम, निमोनिया, प्रसुती, स्त्री रोग, मानसिक रोग, मुटु, एपेन्डिसाईट, हर्निया, पाइल्स, चाटपटक, बालरोग जस्ता समस्या धेर छन् ।

जसको लागि दोलखामा व्यवस्थित भौतिक सुविधा, आईसियुको व्यवस्थापन, ओपिडीको छुट्टै व्यवस्था, दक्ष जनशक्तिको व्यवस्था, भेन्टिलेटरसहित आधुनिक उपकरणहरु र स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई विशेष तालिमको व्यवस्था आवश्यक छ ।

न्याय हेल्थ नेपाल दोलखाबाट गएपछि तपाइको सोच के छ ?
– न्याय हेल्थ नेपालले छोडेपछि भीमेश्वर नगरपालिकाले पुरानै सुविधासहित अस्पताल सञ्चालन गर्ने छ जसको लागि म केही महिना भीमेश्वर नगरपालिका मातहत रहेर व्यवस्थापन तथा क्लिनिकल जिम्मेवारीमा रहेर सेवा दिने छु त्यसपछि आफ्नो एमपिएचको निरन्तरतासहित नेपालको अन्य दुर्गम ठाँउमा सेवा दिन जाने छु ।

प्रस्तावित चरिकोट अस्पतालमा तपाइको नेतृत्वमा जिल्लाभरीका प्रसुतिका विरामीहरुले उपचार सेवा पाइरहेका छन्, प्रसुति सेवालाई थप विस्तार र गुणस्तरीय बनाउन अस्पतालमा के–के कुरामा सुधार गर्नु पर्छ जस्तो लाग्छ ?
– प्रस्तावित चरिकोट अस्पताललाई न्याय हेल्थ नेपालले सञ्चालन गरेको पाँच बर्षको अवधिमा चार हजार एक सय महिलाले प्रसुति सेवा लिएका छन् जसमा १३ प्रतिशतको मात्र सल्यक्रिया गरिएको छ ।

यो आँकडा विश्वको विकसित मुलुकहरुको जस्तै छ । न्याय हेल्थ नेपालले जिल्लाको चार वटा पालिकाको स्वास्थ्य संस्थामा सामुदायीक स्वास्थ्य कार्यक्रम चलाएको र ती पालिकाहरुमा स्वास्थ्य संस्थामा सुत्केरी गर्ने महिलाको संख्या ८० प्रतिशत रहेको छ । यो निक्कै राम्रो उपलब्धि हो । जिल्लामा उत्कृष्ठ प्रसुति सेवाको लागि छुट्टै मातृ सिसु भवन र आईसियु, दक्ष जनशक्ति तथा आवश्यक उपकरणहरु थप गर्नुपर्छ ।

प्रस्तावित चरिकोट अस्पताल पाँच बर्षसम्म न्याय हेल्थ नेपालले सञ्चालन गर्यो, यो अवधिमा तपाईको नेतृत्वमा विरामीहरुले निःशुल्क रुपमा उत्कृष्ट सेवा पनि पाए तर अहिले आर्थिक समस्या देखाउँदै न्याय हेल्थ नेपाल बाहिरिएको छ, अस्पतालमा विगतकै जस्तो उत्कृष्ठ सेवा प्रदान गर्न संघ, प्रदेश र स्थानिय सरकारले कस्तो सहयोग गर्नु पर्छ जस्तो लाग्छ ?
– स्वास्थ्य सेवाको क्षेत्रमा न्याय हेल्थ नेपाल र सरकार बीच भएको साझदारी नेपालको इतिहासमै पहिलो हो । विगत पाँच बर्षको अवधिमा दोलखाका दुई लाख ८० हजार जनताले निशुल्क उपचार सेवा पाएका छन् । जटिल सल्यक्रिया, डिजिटल हेल्थ र विद्युतिय प्रणाली प्रयोगमा नेपालकै उत्कृष्ठ स्वास्थ्य संस्था बनेको छ ।

न्याय हेल्थ नेपाल बाहिरीएको अवस्थामा भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले पहिलेकै सुविधासहित सेवा दिने तत्र्पता देखाउनु भएको छ । अब संघ र प्रदेशले पनि आवश्यक सहयोग गर्नुपर्छ ।

१० बर्षको लागि अस्पताल सञ्चालनको जिम्मेवारी लिएको न्याय हेल्थ नेपाल आर्थिक कारण देखाउदै पाँचै बर्षमा फिर्ता जानु उचित हो त ? न्याय हेल्थ नेपाल बाहिरीनुको कारण आर्थिक मात्रै हो कि अरु पनि छन् ?
– न्याय हेल्थ नेपालले पुर्वाधार विकास र स्वास्थ्यको पहँच बृद्धिको लक्ष्य सहित १० बर्षको लागि सम्झौता गरेको थियो तर पाँच बर्षकै अवधिमा पुर्वाधार विकास र स्वास्थ्य सेवामा पहुँ विस्तारका काम भएका छन् । त्यसैगरी यो बीचमा राजनीतिक अवस्थामा समेत परिर्वतन भएको र स्थानीय सरकार मजबुद भएकोले पनि न्याय हेल्थ नेपालको एउटा लक्ष्य पुरा भएको छ ।

फेरि नेपालमा गैर सरकारी संस्थाहरुको सहकार्यमा भएका काममा सरकारले चाँसो नदिएकोले पनि सहकार्य लामो समय रहन नसकेको देखिन्छ । सरकारले कामको अनुगमन, अडिट, सहयोग गरेको भए न्याय हेल्थ नेपाल सम्झौता भएको अवधि भरसम्मनै रहन सक्ने अवस्था हुने थियो कि ।