तपाईँ सुन्दै हुनुहुन्छः

जानकी मन्दिरमा कोसेली स्वरूप महोत्तरीबाट १ सय ८ पाहुर

जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा १ सय ८ वटा कोसेली भार (पाहुर) आएको छ ।

प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाको अवसरमा आउने कोसेली यस वर्ष पनि महोत्तरीको रतौलीबाट आएको हो ।

रतौलीका स्वर्गीय ब्रहमदेव ठाकुरको घरबाट प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिरमा पाहुर (भार) पठाउने परम्परालाई यस पटक पनि निरन्तरता दिइएको छ ।

पाहुरमा पान, मखान, लडु, खाजा, दही, चामल, दाल, तरकारी सहित भगवान रामजानकीको लुगा समेत रहेको छ । स्वर्गीय ठाकुरको घरबाट जानकी मन्दिरमा परम्परागत ढङ्गले काँधमा पाहुर बोकेर स्थानीयवासीले जानकी मन्दिरमा ल्याउने गरेका छन् ।

ठाकुर परिवारका नविन ठाकुरले वर्षौंदेखिको परम्परालाई आफूहरूले निरन्तरता दिँदै आएको जानकारी दिनभयो । मिथिलामा मनाइने ‘कोजगरा’को अवसरमा जानकी मन्दिरमा १ सय १८ वर्षदेखि कोसेली पठाइने गरिएको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार कोजगरा महोत्सवमा राम जानकीको चुमाओन (विशेष पूजा) गरिन्छ । मिथिलामा व्यक्तिको घरमा हिजै कोजाग्रात पूर्णिमाको विधि सम्पन्न भएपनि मठ मन्दिरमा आज भगवानको चुमाओन गर्ने कार्यक्रम रहेको महन्थ दासले जानकारी दिनुभयो ।

पाहुर ( भार ) जानकी मन्दिर परिसरमा आएपछि त्यसलाई अवलोकन गर्नेहरुको भिड रहे पनि कोरोना महामारीका कारणले विगतका वर्षमा जस्तो यस बर्ष भिड भएको छैन् ।

उक्त पाहुर आज साँझ भगवानको चुमाओनपछि प्रसादको रुपमा सर्वसाधारणमा वितरण गर्ने चलन पनि रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button